कपिलवस्तु । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस कपिलवस्तुमा आन्तरिक विवाद चर्किएको छ। यसैबीच पार्टीले आफूहरूमाथि कारबाहीको सिफारिस गरेपछि कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वराजदूत दीपकुमार उपाध्यायले उक्त निर्णयलाई क्षणिक र आवेगको अभिव्यक्ति भएको प्रतिक्रिया दिएका छन्।
नेपाली कांग्रेस कपिलवस्तु जिल्ला समितिले उपाध्यायसहित १९ जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। कपिलवस्तु क्षेत्र नम्बर १ मा कांग्रेसका आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमान विरुद्ध उपाध्यायका छोरा आशिष शर्मा बागी उम्मेदवार बनेपछि जिल्ला समितिले कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै उपाध्यायले आफूले कारबाहीको खबर सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए। उनले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा गम्भीर त्रुटि भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उपाध्यायका अनुसार कपिलवस्तु–१ मा क्षेत्रीय समितिले सिफारिस नै नगरेको व्यक्तिलाई माथिबाट मनोमानी रूपमा उम्मेदवार बनाइएको थियो। उक्त निर्णयप्रति क्षेत्रीय सभापतिसहित धेरै नेता तथा कार्यकर्ताले असहमति जनाएको उनले बताए।
“गलत कुराको विरोध गर्नु, विद्रोह गर्नु उनीहरूको अधिकार हो,” उपाध्यायले भने, “हामीमाथिको कारबाही क्षणिक र आवेगको अभिव्यक्ति मात्र हो।”
उनले कांग्रेस कपिलवस्तुको हालको नेतृत्वमाथि पनि आरोप लगाउँदै पार्टीभित्र अन्तर्घात र विद्रोहको सुरुवात नेतृत्वकै कारण भएको दाबी गरे। उपाध्यायले मतदाता र कार्यकर्ताले यस्तो प्रवृत्तिको जवाफ चुनावमार्फत दिने बताएका छन्।
उनले पार्टीभित्र विद्रोह, निष्कासन र असन्तुष्टिका घटनाहरू पहिलेदेखि हुँदै आएको उल्लेख गर्दै यो विषयलाई सामान्य राजनीतिक घटनाक्रमको रूपमा लिनुपर्ने धारणा राखे।
निर्वाचनको समय नजिकिँदै गर्दा कांग्रेस कपिलवस्तुमा देखिएको यो विवादले चुनावी समीकरणमा असर पार्ने संकेत देखिएको छ।



