कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ को चुनाव प्रचार–प्रसार समितिको बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक ध्रुव बहादुर रायमाझीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
बैठकमा क्षेत्र नम्बर १ अन्तर्गतका ३० वटै वडाबाट सुझाव संकलन गरिएको जानकारी दिइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर सुझाव लिइएको अध्यक्ष रायमाझीले जनहित अनलाइनसँग बताउनुभयो ।
घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा मतदाताबाट उत्साहजनक साथ र समर्थन प्राप्त भएको वडास्तरीय पदाधिकारीहरूले बैठकमा ब्रिफिङ गरेका थिए ।
यसैबीच राप्रपा क्षेत्र नम्बर १ ले अब दोस्रो चरणको घरदैलो कार्यक्रमलाई अझ व्यापक, प्रभावकारी र अर्थपूर्ण बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर १ का उम्मेदवार शत्रुघन विलास सिंह कुर्मीको जित सुनिश्चित गर्न घरदैलो तथा मतदाता भेटघाट अभियानलाई थप तीव्र बनाइने अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।



