वाणगंगा–२ मा आशिष शर्माको घरदैलो, बढ्दो समर्थन


पालिका पत्र

६ फाल्गुन २०८२, बुधबार २१:५८ मा प्रकाशित

जितपुर, कपिलवस्तु ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा वाणगंगा नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

घरदैलोका क्रममा शर्माले घर–घर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुनेका थिए। स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासका विषयमा आफ्ना धारणा खुलेर राखेका थिए। मतदाताले सक्षम, इमानदार र युवापुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई दलगत सीमाभन्दा माथि उठेर विजयी गराउनुपर्ने धारणा व्यक्त गर्दै शर्माप्रति समर्थन जनाएका छन्।

स्वतन्त्र उम्मेदवारीसहित ‘जिप’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका शर्मा पछिल्लो समय जिल्लाको राजनीतिमा भरोसायोग्य र परिणाममुखी विकल्पका रूपमा उदाउँदै गएका छन्। अनुभवी नेतृत्व र नयाँ सोचको संयोजन प्रस्तुत गर्दै उनी मतदातामाझ लोकप्रिय बन्दै गएको स्थानीयको भनाइ छ। पुरानो राजनीतिक शैलीप्रति असन्तुष्ट मतदाताले उनलाई परिवर्तनको आशाका रूपमा लिन थालेका छन्।

शर्माले नारा मात्र होइन, स्पष्ट दृष्टिकोण र व्यवहारिक योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएका छन्। जनताको दुःख–सुखमा साथ दिने, प्रत्यक्ष संवाद गर्ने र समस्याको व्यावहारिक समाधान खोज्ने शैलीकै कारण आफूले विश्वास जित्दै गएको उनले बताएका छन्।

वाणगंगा–२ मा देखिएको उत्साहजनक सहभागिता र समर्थनले कपिलवस्तु क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारको पक्षमा सकारात्मक माहोल बन्दै गएको संकेत गरेको छ। विश्वास, इमानदारी र काम गर्ने प्रतिबद्धताको आधारमा आशिष शर्मा अहिले मतदाताको रोजाइ बन्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्