कपिलवस्तु, ७ फागुन २०८२, बिहीबार ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित कपिलवस्तुमा विभिन्न मतदान स्थलहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत सहभागी संयुक्त टोलीले निर्वाचन क्षेत्र नं. ०१ अन्तर्गत वाणगङ्गा नगरपालिका वडा नं. १, २, ७, ८ र ९ मा रहेका १५ वटा मतदान स्थलको अनुगमन गरेको हो।
अनुगमनका क्रममा मतदान स्थलहरूको भौतिक पूर्वाधार, सुरक्षाको प्रबन्ध, मतदान कक्ष व्यवस्थापन, मतदाताको सहज पहुँच तथा अन्य आवश्यक तयारीबारे विस्तृत जानकारी लिइएको थियो। टोलीले स्थलहरूको अवस्था मूल्याङ्कन गर्दै आवश्यक सुधारका विषयमा समेत निर्देशन दिएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मतदानका दिन कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहने उहाँले स्पष्ट पार्नुभयो। “मतदान स्थलहरूमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको छ। मतदातालाई निर्धक्क र उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गर्दछु,” उहाँले भन्नुभयो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले निर्वाचन अवधिभर सुरक्षा निगरानी कडा पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार संवेदनशील तथा अति संवेदनशील मतदान स्थलहरूमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ र शान्तिपूर्ण वातावरण कायम राख्न सबै सरोकारवालासँग समन्वयलाई प्रभावकारी बनाइएको छ।



