कपिलवस्तु–१ मा अतहर कमालको दाबी : “ढुक्कसँग जित्छौं”


पालिका पत्र

७ फाल्गुन २०८२, बिहीबार १९:२६ मा प्रकाशित

कपिलवस्तु ।

अतहर कमाल मुसलमानले कपिलवस्तु–१ मा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। जिल्लामा ‘भूँइँ मान्छे’को छवि बनाएका उनले कपिलवस्तुसहित देशभर नै नेपाली कांग्रेसको पक्षमा माहोल सृजना भएको बताएका हुन्।

मायादेवी गाउँपालिका–डुबरामा आयोजित घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत मायादेवी र शुद्धोधन गाउँपालिका तथा बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको जिकिर गरे। अन्य दल कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्दै उनले भने, “हामी १० देखि १५ हजार मतले अगाडि छौं, जित्नेमा ढुक्क छौं।”

कमालले आफू यस क्षेत्रको सामाजिक रूपान्तरण र विकास निर्माणका एजेन्डामा स्पष्ट रहेको उल्लेख गर्दै केन्द्रिय नेतृत्वले अघि सारेको ‘अबकी बार सय पार’ नारा साकार हुने विश्वास व्यक्त गरे। उनले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ४० सिट जित्ने दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बन्ने तथा कपिलवस्तुका तीनै सिट कांग्रेसले जित्ने दाबी गरे।

को हुन् अतहर कमाल मुसलमान?

अतहर कमाल मुसलमान २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर विजयी भएका थिए। स्वतन्त्र उम्मेदवार भए पनि उनले सार्वजनिक रूपमा कांग्रेसको चुनाव चिह्नमा मत हालेको बताएका थिए।

२०७४ सालमा भने उनी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बने। पछिल्ला दुई दशकदेखि मधेशका सिमान्तीकृत तथा वञ्चित समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि सक्रिय उनी सामाजिक परिचालन अभियानमार्फत छात्रवृत्ति, निरन्तर पढाइ, स्वच्छ खानेपानी तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

स्वतन्त्र रूपमा संविधानसभा सदस्य निर्वाचित भएपछि केपी शर्मा ओलीले मन्त्री बन्न प्रस्ताव गरे पनि पार्टी नछाडेको उल्लेख गर्दै उनले अहिले कांग्रेसबाट उम्मेदवार बन्न पाउँदा गर्व लागेको बताए।

बाणगंगा नगरपालिका–११ वनकटवाका ५५ वर्षीय मुसलमानले कृषिको आधुनिकीकरणमार्फत उत्पादनदेखि बजारीकरणसम्मको शृङ्खला सुदृढ गर्दै स्वरोजगार वृद्धि गर्ने लक्ष्य अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्