कपिलवस्तु–१ मा आशिष शर्मा को घरदैलो तीव्र, वाणगंगा–७ मा जनभेटघाट


पालिका पत्र

८ फाल्गुन २०८२, शुक्रबार ०८:५२ मा प्रकाशित

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैबीच स्वतन्त्र उम्मेदवार आशिष शर्मा ले वाणगंगा नगरपालिका–७ मा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका छन् ।

घर–घरमा पुगेर मतदाताका समस्या, सुझाव र अपेक्षा सुन्दै हिँडेका शर्मा स्थानीयका आधारभूत मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी अभियानमा सक्रिय देखिएका छन् । वर्षौंदेखि सडक, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयमा बेवास्ता भोग्दै आएका मतदाताले यसपटक स्वच्छ छविका उम्मेदवारलाई जिताउनुपर्ने स्पष्ट सन्देश दिएको बताइएको छ ।

घरदैलो अभियानका क्रममा मतदाताले खुलेरै सक्षम, इमानदार र संस्कारी युवा उम्मेदवारका रूपमा चिनिएका शर्माप्रति विश्वास व्यक्त गरेका छन् । स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मले विकासका लागि व्यवहारिक र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा राखेका छन् ।

स्वतन्त्र उम्मेदवारी लिएर चुनावी मैदानमा उत्रिएका शर्मा कपिलवस्तु जिल्लाको राजनीतिमा विकल्पका रूपमा स्थापित हुँदै गएका छन् । दलका उम्मेदवारहरू संगठन विस्तार र नारामै केन्द्रित भइरहेका बेला शर्मा भने जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई केन्द्रमा राखेर अघि बढेको समर्थकहरूको भनाइ छ ।

“नारा होइन, परिणाम दिने राजनीति” भन्ने मूल धारणा लिएर अघि बढेका शर्माले निर्वाचित भएमा पारदर्शी र उत्तरदायी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । निर्वाचन नजिकिँदै जाँदा उनको घरदैलो अभियानले क्षेत्र नं। १ को चुनावी समीकरणमा नयाँ चर्चा थपेको छ ।

प्रतिक्रिया दिनुहोस्