कपिलवस्तु–१ मा कुँवरको चर्चा चुलियो, प्रतिस्पर्धी दलहरू रणनीति बदल्न बाध्य


पालिका पत्र

१० फाल्गुन २०८२, आईतवार २०:०९ मा प्रकाशित

जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ यतिबेला प्रतिनिधिसभा निर्वाचनका कारण राष्ट्रिय रूपमा समेत चर्चामा छ । देशभर नेपाली कांग्रेसको प्रभाव बढ्दै गएको चर्चा भइरहेका बेला कपिलवस्तु–१ मा भने फरक राजनीतिक समीकरण देखिएको विश्लेषण हुन थालेको छ।

यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर कुँवर चुनावी मैदानमा चर्चाको केन्द्रमा छन् । ‘वरिष्ठ समाजसेवी’को छवि बनाएका कुँवरलाई धेरै स्थानीय बुद्धिजीवी, व्यवसायी र राजनीति विश्लेषकले सक्षम र योग्य उम्मेदवारका रूपमा लिने गरेका छन् । उनी स्थानीय भूगोल, सामाजिक संरचना र राजनीतिक परिवेश राम्रोसँग बुझेका उम्मेदवार भएको दाबी समर्थकहरूको छ ।

कपिलवस्तु–१ मा मुख्यतः पाँच उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विश्राम प्रसाद थारु, नेपाली कांग्रेसका अतहर कमाल मुसलमान, नेपाली कम्युनिष्ट पार्टीका कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य तथा स्वतन्त्र उम्मेदवार आशिष शर्माबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

कुँवरलेको चर्चाले ठूला दलहरूलाई समेत रणनीति पुनर्विचार गर्न बाध्य बनाएको चर्चा छ। विशेषगरी युवा तथा विभिन्न समूहका नेता–कार्यकर्ता कुँवरतर्फ आकर्षित देखिएपछि प्रतिस्पर्धीहरू सतर्क बनेका छन् । यो समर्थन अन्तिमसम्म कायम रहेमा कुँवरले जित निकाल्न सक्ने अनुमान पनि गरिएको छ। स्वयं कुँवर भने आफू जितप्रति ढुक्क रहेको बताउँछन्।

यस निर्वाचनलाई पुराना र नयाँ अनुहारबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । अतहर कमाल मुसलमान दुई पटक निर्वाचित भइसकेका छन् भने विश्राम थारु एक पटक निर्वाचित भइसकेका नेता हुन् । नयाँ उम्मेदवारका रूपमा कुँवर, शर्मा र आचार्य मैदानमा छन् । मतदातालाई कसलाई रोज्ने भन्ने विषय जटिल देखिए पनि कतिपय स्थानीय बुद्धिजीवीहरूले गुणस्तरका आधारमा कुँवर अगाडि रहेको धारणा राखेका छन् ।

वडा नम्बर ४ मा भएको छलफलमा एक स्थानीय बुद्धिजीवीले दोहोरिने नेताहरूलाई पुनः मत दिन नहुने धारणा राख्दै भने, “उम्मेदवार हुन विज्ञता मात्र पर्याप्त हुँदैन। भूगोल, समाज र राजनीति बुझ्नुपर्छ । सामाजिक योगदान र स्वीकार्यता पनि हुनुपर्छ। यस हिसाबले कुँवर उपयुक्त देखिन्छन् ।”

केही स्थानीयले कुँवरलाई समाजले खोजेको पात्रका रूपमा चित्रित गरेका छन् । दक्षिण क्षेत्रसम्म गरिएको अनौपचारिक मत सर्वेक्षणमा पनि कुँवरमाथि ठूला आरोप नलागेको प्रतिक्रिया आएको बताइएको छ । “अरू उम्मेदवारमाथि आरोप सुनिन्छन्, तर कुँवरमा खासै खोट देखिँदैन,” एक मतदाताले प्रतिक्रिया दिए ।

बाणगंगा नगरपालिका–७, बनगाईका अवकाशप्राप्त एक शिक्षकले उम्मेदवारहरूको तुलना गर्दै भने, “आशिष शर्मा युवा र ऊर्जावान देखिन्छन्, मोहन आचार्य शिक्षित छन् । तर स्थानीय भूगोल, सामाजिक सम्बन्ध र राजनीतिक बुझाइका आधारमा कुँवर अगाडि देखिन्छन् । पार्टीभन्दा माथि उठेर मतदान गर्ने हो भने पात्र हेर्नुपर्छ ।”

यद्यपि कतिपयले संगठन कमजोर रहेकाले कुँवरलाई जित निकाल्न चुनौतीपूर्ण हुने विश्लेषण पनि गरेका छन् । स्वयं कुँवर भने “म नजिते यो क्षेत्रले नै हार्छ” भन्दै आफूले गरेका प्रतिबद्धता पूरा गर्ने र कहिल्यै भ्रष्टाचार नगर्ने दाबी गर्छन् ।

चुनाव नजिकिँदै जाँदा कपिलवस्तु–१ मा पार्टीभन्दा व्यक्तित्व र पात्रलाई आधार बनाएर मत दिने चर्चा बढ्दै गएको देखिन्छ। अन्ततः मतदाताले कस्तो निर्णय लिन्छन् भन्ने कुरा भने निर्वाचन परिणामले नै स्पष्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्