युवाको सहभागिता बढाउन कपिलवस्तुमा सचेतना बहस


पालिका पत्र

१० फाल्गुन २०८२, आईतवार २०:४१ मा प्रकाशित

कपिलवस्तु, १० फाल्गुन २०८२ (आइतबार) ।
सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा युवापुस्ताको सक्रिय सहभागिताबारे अन्तरपुस्ता संवाद कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघको आयोजनामा भएको कार्यक्रममा युवापुस्ता, नागरिक समाज तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविस्वर घिमिरेले निर्वाचन आचारसंहिताबारे विस्तृत जानकारी दिँदै यसको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले कुनै पनि प्रकारको आग्रह वा पूर्वाग्रह नराखी स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष जितकुमारी बेल्वासेले युवालाई सचेत र जिम्मेवार बनाउनु समयको आवश्यकता भएको बताउनुभयो। सामाजिक सञ्जालको दुरुपयोगका कारण सामाजिक द्वन्द्व र अशान्ति बढिरहेको उल्लेख गर्दै उहाँले सामाजिक सद्भाव कायम राख्न संयमता र जिम्मेवारीपूर्ण अभिव्यक्ति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

संवादका क्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको मतदान केन्द्रको बुथ एकाइसम्म पहुँच सुनिश्चित गर्ने उपाय, भोट बदर दर घटाउन प्रभावकारी निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने रणनीति तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणबारे जिज्ञासा राखेका थिए।

गैसस कपिलवस्तुका जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जानकारी सदस्य रामेन्द्र सिंह रावलले गराउनुभएको थियो भने सञ्चालन उपाध्यक्ष रामशरण रैदासले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्