बालबालिकालाई राजनीतिक गतिविधिबाट टाढा राख्ने अठोट


पालिका पत्र

१० फाल्गुन २०८२, आईतवार २०:४९ मा प्रकाशित

कपिलवस्तु, १० फाल्गुन २०८२ (आइतबार) ।
आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै बालबालिकाको हकअधिकार संरक्षण र हित सुनिश्चित गर्न सरोकारवाला पक्षले सामूहिक प्रतिबद्धता जनाएका छन्। पिस नेपालको आयोजनामा आइतबार सम्पन्न नागरिक दल र नागरिक समाजबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बालअधिकार संरक्षणलाई प्राथमिकतामा राख्ने अठोट व्यक्त गरेका हुन्।

कार्यक्रममा सहभागीहरूले बालबालिकालाई धर्ना, जुलुस, आमसभा लगायत राजनीतिक गतिविधिमा संलग्न नगराउने तथा त्यसको प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाए। विद्यालय परिसरमा राजनीतिक कार्यक्रम सञ्चालन नगर्ने र बालबालिकालाई राजनीतिक आवद्धताका आधारमा विभाजित नगर्ने बचनबद्धता समेत व्यक्त गरिएको छ।

त्यसैगरी राजनीतिक दल तथा नेताहरूले सार्वजनिक अभिव्यक्तिमा बालबालिकामा प्रत्यक्ष असर पर्ने किसिमका अभिव्यक्ति नदिन सचेत रहने, घर, समाज र विद्यालयमा हुने शारीरिक तथा भावनात्मक हिंसा अन्त्यका लागि पहल गर्ने तथा बालअधिकार संरक्षणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक नीति तथा बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविस्वर घिमिरेले निर्वाचन आचारसंहिताबारे जानकारी दिँदै स्वतन्त्र, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार कपिलवस्तुमा हालसम्म आचारसंहितासम्बन्धी कुनै लिखित उजुरी परेको छैन। जिल्लामा ९८ जना प्रतिनिधिसभा उम्मेदवारमध्ये हालसम्म २०–२५ जनाले मात्र बैंक खाता खोलेको तथा तोकिएको समयभित्र बुझाउनुपर्ने घोषणापत्र सबैले पेश नगरेको जानकारी पनि उहाँले दिनुभयो।

त्यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले आचारसंहिता स्वअनुशासनको दस्तावेज भएकाले उम्मेदवार, राजनीतिक दल, कर्मचारी र सञ्चारमाध्यम सबैले यसको कडाइका साथ पालना गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, जिल्ला समन्वय अधिकारी, गैससका प्रदेश तथा जिल्ला अध्यक्ष, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रोजेक्ट म्यानेजर योगेन्द्र बुढाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्