कमालको प्रतिबद्धता: सबै समुदायलाई न्याय, समतामूलक समाज निर्माणमा जोड


पालिका पत्र

१० फाल्गुन २०८२, आईतवार २०:५८ मा प्रकाशित

कपिलवस्तु, १० फागुन ।

नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अतहर कमाल मुसलमानले सबै समुदायलाई न्याय हुने गरी समतामूलक समाज निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाअन्तर्गत लबनी र नन्दनगरमा आयोजित चुनावी घरदैलो कार्यक्रममा उहाँले राजनीतिक तथा सामाजिक दुवै क्षेत्रको अनुभवका आधारमा समाजका हरेक आयामलाई समेट्ने न्यायपूर्ण र समावेशी विकासको अवधारणा अघि बढाउने बताउनुभयो।

उहाँका अनुसार दलित, जनजाति, मधेसी, मुस्लिम, थारु तथा पछाडि परेका समुदायको हितलाई प्राथमिकतामा राखिनेछ। विगतदेखि नै दलित, गरिब, महिला, जनजाति र थारु समुदायको उत्थानका पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि सबै समुदायको हक–अधिकार सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

शिक्षा क्षेत्र सुधारलाई मुख्य एजेन्डा बनाउँदै महिला शिक्षा अभिवृद्धि, मदरसा, गुरुकुल र आश्रम शिक्षाको संरक्षण तथा दलित समुदायका लागि अम्बेडकर समतामूलक शिक्षाको अवधारणालाई सशक्त बनाउने योजना रहेको उहाँले उल्लेख गर्नुभयो।

संविधानसभा र प्रतिनिधिसभामा निर्वाह गरेको भूमिकालाई आधार मान्दै आगामी दिनमा संविधान संशोधन प्रक्रियामा समेत सबै समुदायलाई न्याय हुने नीतिगत पहल गर्ने उहाँको भनाइ छ।

घरदैलो कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सहसराम यादव, पूर्वमन्त्री तथा पूर्व जिल्ला सभापति कमलेश कुमार शर्मा, पूर्व जिल्ला सभापति राजेश आचार्य, पूर्व सचिवहरू सुरेश शर्मा र महेन्द्र पाठक, पूर्व कोषाध्यक्ष शोहरत तेली, सहसचिव वजिह अरसद, पूर्व क्षेत्रीय सभापति लोकनाथ शर्मा, नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेल, युवा नेता इस्तियाक खान लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्