कपिलवस्तु, १० फागुन ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार विश्राम प्रसाद चौधरी यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मायादेवी गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाटमा सक्रिय हुनुहुन्छ।
घरदैलो कार्यक्रममार्फत उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्दै गुनासा, सुझाव र अपेक्षा संकलन गरिरहनुभएको छ। अन्तरक्रियाका क्रममा चौधरीले दीर्घकालीन विकासका स्पष्ट योजना र प्रतिबद्धतासहित अघि बढ्ने विश्वास दिलाउनुभयो।
उहाँका अनुसार कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनेछ। किसानको समृद्धिबिना देशको समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै उहाँले राजमार्गदेखि गाउँसम्म दुई लेन सडक विस्तार, जगदिशपुर जलाशयबाट सिँचाइ सुविधा विस्तार, कृषि एम्बुलेन्स सेवा सञ्चालन तथा स्वास्थ्य र शिक्षामा गुणस्तरीय सुधार गर्ने योजना प्रस्तुत गर्नुभयो।
“सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने लक्ष्यसहित युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो। कृषि आधुनिकीकरण, साना तथा लघु उद्यम प्रवर्द्धन, सीपमूलक तालिम विस्तार र सामाजिक न्याय सुनिश्चित गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने उहाँको प्रतिबद्धता छ।
त्यसैगरी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास व्यवस्था, स्वच्छ खानेपानी र आधारभूत सेवाको पहुँच विस्तारमा विशेष पहल गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो।
घरदैलोका क्रममा स्थानीयवासीले सडक स्तरोन्नति, प्रभावकारी सिँचाइ, सहज स्वास्थ्य सेवा र स्थानीय स्तरमै रोजगारी सिर्जनालाई मुख्य चासोका विषयका रूपमा उठाएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै चौधरीले संविधान र कानुनको दायराभित्र रही पारदर्शी, उत्तरदायी र जनमुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको छ। चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग अपिल गर्नुभएको छ।



