बाणगंगा, कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मा को चुनावी अभियानले तीव्र गति लिँदै निर्णायक मोड लिएको छ। दलगत राजनीतिप्रति असन्तुष्टि, वर्षौंदेखिका अधुरा आश्वासन र जनअपेक्षाको बेवास्ताबाट आजित मतदाताहरूको ध्यान क्रमशः शर्मातर्फ केन्द्रित हुन थालेपछि क्षेत्रको चुनावी समीकरण परिवर्तनतर्फ उन्मुख देखिएको छ।
विशेषगरी वाणगंगा नगरपालिका–८ मा सम्पन्न घरदैलो अभियानमा उल्लेख्य जनसहभागिता देखिएको थियो। सयौँ स्थानीयको उपस्थितिमा मतदाताहरूले खुलेर समर्थन जनाउँदै प्रत्यक्षतर्फ ‘जिप’ चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थानीयवासीहरूका अनुसार यसपटक दलभन्दा परिणाममुखी नेतृत्व रोज्ने मनस्थिति बनेको छ। “देशभर विभिन्न व्यक्तिको चर्चा भए पनि हाम्रो क्षेत्रको वास्तविक विकासका लागि सक्षम, शिक्षित र अनुभव भएका युवा नेतृत्व आवश्यक छ,” एक स्थानीय मतदाताले भने।
समर्थकहरूका अनुसार उनी भाषणभन्दा योजना निर्माण र कार्यान्वयनमा विश्वास गर्ने उम्मेदवारका रूपमा चिनिन्छन्। कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण, युवालाई स्वरोजगार तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा उनले देखाएको सक्रियताले पनि मतदाताको भरोसा बढाएको दाबी गरिएको छ।
घरदैलोका क्रममा शर्माले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा ‘जिप’ चिन्हमा मतदान गर्न अपिल गरे। उनले भने, “मतदानको दिन मात्र होइन, यहाँका नागरिकको हरेक दुःख–सुखमा म सधैँ साथमा रहनेछु। कपिलवस्तुको हरेक टोल र बस्तीको समग्र विकास मेरो पहिलो प्राथमिकता हुनेछ।”
वाणगंगा–८ मा देखिएको उत्साह र समर्थनले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार शर्माको उपस्थितिलाई थप सशक्त बनाएको विश्लेषण गरिएको छ। चुनाव नजिकिँदै जाँदा उनको अभियानले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई समेत दबाबमा पारेको राजनीतिक वृत्तमा चर्चा छ।



