कपिलवस्तु – बाणगंगा नगरपालिका–८ मधुवनका ३६ वर्षीय मानबहादुर जिसी भारतको बेङ्गलोरमा सम्पर्कविहीन भएका छन् । परिवार स्रोतका अनुसार कामको सिलसिलामा बेङ्गलोर पुगेका जिसी फागुन ०९ गते राति करिब २ बजे आफू बस्दै आएको कोठाबाट हराएका हुन् ।
उनी त्यसयता परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । घटनापछि आफन्तले सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र पारे पनि हालसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ ।
परिवारले मानबहादुर जिसीको खोजीमा सहयोग गरिदिन सर्वसाधारण, भारतस्थित नेपाली समुदाय तथा सम्बन्धित निकायसँग हार्दिक अपिल गरेको छ । उनका बारेमा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८६१०७२७४२ मा जानकारी गराइदिन अनुरोध गरिएको छ ।
परिवारका सदस्यहरू उनका सकुशल फर्किने आशामा रहेका छन् भने यथाशीघ्र खोजी तथा उद्धारमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।


