कपिलवस्तु–१ मा २२ हजार बढी मतसहित कुँवरले चुनाव जित्ने अनुमान, यस्तो छ आधार


पालिका पत्र

१८ फाल्गुन २०८२, सोमबार २१:०० मा प्रकाशित

जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार कृष्ण कुँवरको जित्ने आधार बलियो बन्दै गएको विश्लेषण गरिएको छ। मनोनयनपछि मौन अवधिसम्म सञ्चालन भएका घरदैलो, भेटघाट, चुनावी गतिविधि तथा मतदाताको मनोविज्ञानको मूल्यांकन गर्दा वरिष्ठ समाजसेवीको छवि बनाएका कुँवरको जित्ने सम्भावना बढ्दै गएको देखिएको हो।

यस विश्लेषणका लागि २०७९ को स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा खसेको मत, विभिन्न वडा तथा नगरपालिकामा दलहरूको अवस्था, र हाल नयाँ तथा स्वतन्त्र उम्मेदवारहरूको प्रभावलाई आधार बनाइएको छ।

विगतका चुनावजस्तै यसपटक पनि कपिलवस्तु क्षेत्र नम्बर १ मा फरक परिस्थितिहरू देखिएका छन्, जसको फाइदा कुँवरलाई पुग्न सक्ने अनुमान गरिएको छ। यसअघि चुनाव जितेको नेकपा एमालेको कमजोर हुँदै गएको अवस्था, नेपाली काँग्रेसभित्रको अन्तरद्वन्द्व र बागी उम्मेदवारी, राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण क्षेत्रमा कमजोर देखिनु तथा उक्त पार्टीभित्र आन्तरिक विभाजन देखिनु जस्ता कारणलाई कुँवरका पक्षमा जाने आधारका रूपमा हेरिएको छ। त्यस्तै, कुँवरको व्यक्तिगत सामाजिक छविलाई पनि उनको जितको अर्को महत्वपूर्ण आधार मानिएको छ।

१ लाख ४७ हजार ६ सय ५९ मतदाता रहेको यस क्षेत्रमा यसपटक करिब ६२ देखि ६५ प्रतिशतसम्म मतदान हुन सक्ने अनुमान गरिएको छ। त्यसअनुसार करिब ९२ हजार १ सय ६२ मत खस्न सक्ने आँकलन छ। उक्त मतमध्ये करिब २२ हजार ५ सय १८ मत प्राप्त गर्दै नेकपाका उम्मेदवार कृष्ण कुँवरले ‘तारा’ चिन्हबाट चुनाव जित्ने अनुमान गरिएको छ।

कुँवर पहिलो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहन प्रसाद आचार्य करिब १७ हजार ५ सय ६८ मतसहित दोस्रो स्थानमा रहने आँकलन गरिएको छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार आशिष शर्मा करिब १६ हजार ९ सय ६४ मतसहित तेस्रो स्थानमा रहने विश्लेषण गरिएको छ।

यसैगरी चौथो स्थानमा नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद थारु आउने अनुमान गरिएको छ। उनले करिब १५ हजार ८ सय २७ मत प्राप्त गर्न सक्ने आँकलन गरिएको छ।

विगतमा प्रभावशाली रहेको नेपाली काँग्रेस यसपटक भने खुम्चिने देखिएको विश्लेषणमा उल्लेख छ। बागी उम्मेदवारीका कारण काँग्रेसका आधिकारिक उम्मेदवार कमालले करिब १२ हजार ६ सय मत मात्र ल्याउने अनुमान गरिएको छ। त्यसबाहेक करिब १६ हजारभन्दा बढी मत राप्रपा, जसपा, नाउपा लगायत अन्य दलका उम्मेदवारले प्राप्त गर्न सक्ने आँकलन गरिएको छ।

बाणगंगा नगरपालिकाका ११ वटै वडामा कुँवरले न्यूनतम ४ सयदेखि अधिकतम २ हजारसम्म मत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ। कुँवरले गरेका विभिन्न सामाजिक कार्यहरूको प्रभाव बाणगंगा नगरपालिकाका सबै वडामा देखिएको बताइन्छ।

मत सर्वेक्षणका क्रममा दक्षिण (मधेस–तराई) क्षेत्रमा पनि कुँवरको पकड बलियो देखिएको छ। कपिलवस्तु नगरपालिकाका ४ वटा वडा तथा मायादेवी र शुद्धोधन गाउँपालिकाका अधिकांश वडामा उनले करिब ३ सयदेखि १ हजार ५ सयसम्म मत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्