तीन वडा अध्यक्षसहित ५७ जनामाथि काँग्रेसको पाँच वर्षे निष्कासन


पालिका पत्र

१८ फाल्गुन २०८२, सोमबार २१:५८ मा प्रकाशित

कपिलवस्तु । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा ५७ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले जिल्ला अनुशासन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरेको जनाएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रचार–प्रसार तथा सहयोग गरेको प्रमाण फेला परेपछि उनीहरूलाई कारबाही गरिएको बताइएको छ ।

कारबाहीमा पर्नेहरूमध्ये तीन जना निर्वाचित वडा अध्यक्षसमेत रहेका छन् । निष्कासनमा पर्नेहरूमा बाणगंगा नगरपालिका–५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, कपिलवस्तु नगरपालिका–८ का वडा अध्यक्ष शिवकुमार पाण्डेय र महाराजगञ्ज नगरपालिका–११ का वडा अध्यक्ष धर्मेन्द्रकुमार पुरी रहेका छन् ।

पार्टीका अनुसार अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पार्टी विधानको धारा ३४ को उपधारा ४ (ख) बमोजिम साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरिएको हो । साथै, उक्त निर्णय अनुमोदनका लागि प्रदेश समिति तथा केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्