कपिलवस्तुका ८ उम्मेद्वार जो आफैलाई मतदान गर्न पाउने छैनन्


पालिका पत्र

१८ फाल्गुन २०८२, सोमबार २२:५९ मा प्रकाशित

कपिलवस्तु । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर कपिलवस्तु सहित देशका विभिन्न स्थानका उम्मेदवारहरू विभिन्न कारणले चर्चामा रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी बाट कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार बनेका अधिवक्ता मोहन आचार्यले भने सोही क्षेत्रबाट आफूले मतदान गर्न नपाउने अवस्था रहेको खुलेको छ । निर्वाचन कार्यालय कपिलवस्तुले उपलब्ध गराएको तथ्यांकअनुसार आचार्यको स्थायी ठेगाना ललितपुर महानगरपालिका–२३ मा रहेको र कपिलवस्तु क्षेत्र नं. १ को मतदाता नामावलीमा उनको नाम समावेश नभएको जनाइएको छ ।

यसै कारण उनलाई ‘पर्यटक उम्मेदवार’को आरोप लागेको छ। पार्टी स्रोतका अनुसार कपिलवस्तुबाट ८ जनाको नाम केन्द्रमा सिफारिस गरिएको भए पनि अन्ततः आचार्यले टिकट पाएपछि जिल्लास्थित रास्वपाका केही नेता तथा कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् ।

राजनीतिक विश्लेषकहरूले स्थानीय नेतृत्वलाई बेवास्ता गरी बाहिरबाट उम्मेदवार ल्याउने प्रवृत्तिको आलोचना गरेका छन्। “स्थानीय नेताहरूलाई अवसर नदिई बाहिरबाट उम्मेदवार ल्याउनु दलहरूको कमजोरी हो,” एक राजनीतिक विश्लेषकले बताए।

स्थानीय मतदाताहरूले पनि आफ्नो क्षेत्रको समस्या राम्ररी बुझ्ने र समाधान दिन सक्ने उम्मेदवार आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। “हामीलाई आफ्नो क्षेत्रको समस्या बुझ्ने र समाधान गर्न सक्ने उम्मेदवार चाहिन्छ, पर्यटक उम्मेदवार होइन,” एक मतदाताले भने।

यसैगरी कपिलवस्तु क्षेत्र नं. १ मा अन्य ‘पर्यटक उम्मेदवार’का रूपमा जनमत पार्टीका ईश्वर कुमार राउत (लिखु गाउँपालिका–४, नुवाकोट), नेकपा (माओवादी केन्द्र)का बिनोद लुइटेल (धरान उपमहानगरपालिका–१४, सुनसरी) तथा मंगोल नेशनल अर्गनाइजेशनका पिन बहादुर दर्जी (देवदह–७, रुपन्देही) रहेका छन्। निर्वाचन कार्यालय कपिलवस्तुले सो जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्