कपिलवस्तु — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुमा मौन अवधिको खुलेआम उल्लंघन भइरहेको छ। मतदान हुनुअघि लागू गरिएको ७२ घण्टे मौन अवधिको मर्म विपरीत जिल्लाभर प्रचार–प्रसारका गतिविधि रोकिएका छैनन्। यसले निर्वाचनको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार, मत माग्ने अभियान तथा सामाजिक सञ्जालमार्फत प्रचार सामग्री सार्वजनिक गर्न पाइँदैन। तर जिल्लामा जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा समर्थकहरू सामाजिक सञ्जालमार्फत सक्रिय देखिएका छन्। फेसबुक, टिकटक लगायतका माध्यमबाट उम्मेदवारको पक्षमा स्टाटस, भिडियो र पोस्टहरू निरन्तर सार्वजनिक भइरहेका छन्।
केही अनलाइन सञ्चारमाध्यमले समेत मौन अवधिमा प्रचारात्मक सामग्री हटाउन चासो नदेखाएको आरोप छ। समाचारको आवरणमा उम्मेदवार केन्द्रित सामग्री प्रकाशन भइरहनुले आचारसंहिता कार्यान्वयनको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा अनुगमन समिति गठन गरिए पनि प्रभावकारी अनुगमन नभएको स्थानीयको गुनासो छ । यता सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुगमनलाई प्रभावकारी बनाउन सबै संयन्त्र प्रयोग गरिएको बताए । उनले केही केहीलाई फोन मार्फत सम्झाएको र अटेरी गरेमा कानुन बमोजिम कारबाहि गरिने उनले बताए ।
उल्लंघनका घटना सार्वजनिक भइरहँदा प्रभावकारी कारबाही नदेखिनुले नियमनकारी निकायको भूमिकामाथि आलोचना बढेको हो।
यस विषयमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले मौन अवधिको पूर्ण पालना हुनुपर्ने बताएका छन्। उनले सञ्चारमाध्यमहरू स्वयं जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्ष सचेत हुन आग्रह गरे।
जिल्ला निर्वाचन कार्यालयले भने अनुगमन टोली परिचालन गरिएको जनाएको छ। तर व्यवहारमा उल्लंघन रोक्न नसकिएको भन्दै सर्वसाधारणले कडाइका साथ अनुगमन र कारबाही अघि बढाउन माग गरेका छन्।
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको मर्यादा जोगाउनु सबैको साझा दायित्व हो। मौन अवधिमा देखिएको लापरवाहीले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि असर पार्न सक्ने भन्दै सरोकारवालाहरूले तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
