मौन अवधिमा प्रचार नगर्न प्रशासनको कडा चेतावनी


पालिका पत्र

२० फाल्गुन २०८२, बुधबार १९:५६ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा विशेष आचारसंहिता कडाइका साथ पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

गृह मन्त्रालय, नेपालअन्तर्गत रहेको कार्यालयले मंगलबार सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा फागुन १९ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको जानकारी गराएको हो।

सूचनामा मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार, मत माग्ने गतिविधि, सामाजिक सञ्जालमार्फत प्रचार सामग्री प्रकाशन तथा आचारसंहिता विपरीतका कार्य नगर्न स्पष्ट निर्देशन दिइएको छ। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन भएको सूचना तथा जानकारी प्राप्त भइरहेकाले सबैलाई संयमित र जिम्मेवार बन्न आग्रह गरिएको छ।

कार्यालयले आचारसंहिता विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रशासनले निर्वाचनको निष्पक्षता, पारदर्शिता र शान्तिपूर्ण वातावरण कायम राख्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता तथा सर्वसाधारण नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।

यसअघि पनि कपिलवस्तुमा मौन अवधिमा सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा प्रचार गतिविधि बढेको गुनासो आएको थियो। प्रशासनको यो सूचनासँगै अब अनुगमन र निगरानी थप कडा बनाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्