आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नहुने व्यवस्था गरेको छ । त्यस्ता मतदाताले परिचयपत्रको विकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न सक्नेछन् । साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिइने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, १ हजार ९०० भन्दा बढी राष्ट्रिय अनुसन्धानका अधिकारी र करिब डेढ लाख म्यादी प्रहरीसहितको सुरक्षा फौज परिचालन गरिएको छ । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।
