कपिलवस्तुमा एल.पी. ग्यासको कृत्रिम अभाव नगर्न प्रशासनको चेतावनी


पालिका पत्र

२७ फाल्गुन २०८२, बुधबार ०८:११ मा प्रकाशित

कपिलवस्तु, ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजारमा एल.पी. ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न सम्बन्धित व्यवसायी तथा डिलरहरूलाई चेतावनी दिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा एल.पी. ग्यास सहज रूपमा नपाइएको तथा कृत्रिम अभाव सिर्जना गरिएको भन्ने सूचना प्राप्त भएपछि प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रशासनद्वारा जारी सूचनामा उपभोक्ताले दैनिक प्रयोग गर्ने अत्यावश्यक वस्तु एल.पी. ग्यासलाई लुकाइछिपाइ बिक्री गर्ने, भण्डारण गरेर राख्ने तथा बढी मूल्यमा बिक्री गर्ने जस्ता कार्यहरू अमानवीय तथा प्रचलित कानुन विपरीत हुने उल्लेख गरिएको छ।

त्यसैले जिल्लामा रहेका उद्योगी, व्यवसायी तथा ग्यास डिलरहरूले जिम्मेवारीपूर्वक ग्यासको भण्डारण, आपूर्ति र बिक्री वितरण सहज बनाउने गरी कार्य गर्न प्रशासनले अनुरोध गरेको छ।

यस्तै कसैले पनि कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने वा अन्य सामाजिक अपराधजन्य कार्य गरेमा कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ लगायत प्रचलित कानुन अनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्