कपिलवस्तु, १७ चैत ।
ग्राहकको खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरी लगाएको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेड, तौलिहवा शाखाका कर्मचारी रिशभ कार्की पक्राउ पर्नुभएको छ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार, कार्कीले मोबाइल बैँकिङ र कनेक्ट आइपिएसमार्फत एक करोड ६५ लाख रुपियाँ ट्रान्सफर गरी आफ्नो खातामा लगाएको आरोप छ । उहाँलाई इलाका प्रहरी कार्यालय पकडीबाट नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानमा उहाँले १६ जना ग्राहकको रकम अनधिकृत रूपमा आफ्नो खातामा सारेर हिनामिना गरेको पुष्टि भएको छ। कार्की वर्षौँदेखि मेसेन्जरका रूपमा बैँकमा कार्यरत हुनुहुन्थ्यो र अन्य कर्मचारीको विश्वास जित्नुभएको थियो। उहाँले बैँकमा कार्यरत दुई कर्मचारीको पासपोर्ट र आइडी जानकारीको दुरूपयोग गर्दै रकम ट्रान्सफर गरेको प्रहरीको भनाइ छ।
घटनाबारे बैँकको केन्द्रीय कार्यालयले एउटै मोबाइल नम्बरबाट १६ जनाको विवरण देखिएपछि शङ्का लागेर प्रहरीलाई जानकारी गराएको थियो। अनुसन्धानपछि कार्कीले उक्त कार्यमा आफ्नो मात्रै संलग्नता रहेको स्वीकार गर्नुभएको छ।
घटनापछि बैँकको केन्द्रीय कार्यालयले दुई कर्मचारीलाई निलम्बन गरेको छ भने शाखा प्रमुखसँग स्पष्टीकरण मागिएको छ। प्रहरीले बैँक खाता र मोबाइल बैँकिङ प्रयोगमा सचेत रहन पनि आम नागरिकलाई आग्रह गरेको छ।
