कपिलवस्तु, १८ चैत्र ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको सक्रियता बिना मुलुकको आर्थिक विकास सम्भव नहुने बताएका छन्। कपिलवस्तु उद्योग वाणिज्य संघको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।
उनले स्थानीय स्तरमा उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गरे। लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए।
प्रदेश सांसद गिरधारीलाल न्यापौनेले कपिलवस्तुको औद्योगिक सम्भावनालाई उपयोग गर्न पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा राखे। बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले स्थानीय तह उद्योगी–व्यवसायीका समस्या समाधानमा सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
संघका अध्यक्ष गणेश क्षेत्रीले व्यवसायीका हक–हित संरक्षणसँगै आर्थिक गतिविधि चलायमान बनाउन संघ सक्रिय रहेको बताए। कार्यक्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष किष्ण शर्मा, पूर्व अध्यक्ष यज्ञ प्रसाद भट्टराई, बाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता बिष्णु पौडेल, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष शन्देश आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए।
सभामा महासचिव नवदत्त घिमिरेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष धिरज खनालले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक विनोद पन्थले लेखा प्रतिवेदन तथा कानुनी सल्लाहकार गुणनिधि भुसालले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको संघले जनाएको छ।
संघका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वक्ताहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, आर्थिक सुदृढीकरण र निजी क्षेत्रको भूमिकाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
