बाणगंगामा आर्थिक गणना सचेतना कार्यक्रम, वैशाखदेखि तथ्याङ्क संकलन


पालिका पत्र

१८ चैत्र २०८२, बुधबार १९:५२ मा प्रकाशित

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा राष्ट्रिय आर्थिक गणना अभियान अन्तर्गत नगरपालिका स्तरीय अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षता तथा नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन नगरवासी र व्यवसायिक प्रतिष्ठानहरूको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यथार्थ र विश्वसनीय तथ्याङ्ककै आधारमा स्थानीय तहको योजना निर्माण तथा आर्थिक विकास सम्भव हुने उल्लेख गर्दै गणकलाई आवश्यक विवरण उपलब्ध गराउन सबैलाई आग्रह गर्नुभयो। साथै, नगरपालिकाले अभियानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

त्यसैगरी, आर्थिक गणना कार्यालय कपिलवस्तुका अधिकारी मनोहर हरिजनले गणनाको उद्देश्य, प्रक्रिया र आवश्यक कागजात सम्बन्धी जानकारी गराउनुभयो। आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्