घोराही, २० चैत्र ।
दाङको देउखुरीमा कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । राप्ती गाउँपालिका–२ बरहाखुट्टी निवासी स्मित प्रधानको शव शुक्रबार दिउँसो फेला परेको हो ।
प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी निवासी १६ वर्षीय आयुष्मान थापा मगर र वडा नम्बर २ बरहाखुट्टी बस्ने १७ वर्षीय स्मित प्रधान साथीको घर जाने भनी निस्किएका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि दुई जना महिला र दुई जना अपरिचित पुरुषले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट आयुष्मानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ । घाइते थापाको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सुरुमा घाइते आयुष्मानले घटनाबारे केही नबताए पनि पछि आफूसँगै स्मित प्रधान पनि रहेको खुलाएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।
खोजीका क्रममा शुक्रबार दिउँसो घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपी नाला नजिकै खोलाको सुक्खा बगरमा टाउकोमा चोट लागेको अवस्थामा स्मितको शव फेला परेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
