बाणगंगामा कक्षा ८ को नतिजाले देखायो संकटः ठूलो संख्यामा विद्यार्थी फेल कमजोरी कस्को


पालिका पत्र

२१ चैत्र २०८२, शनिबार ०८:५१ मा प्रकाशित

बाणगंगा २१, चैत्र ।

बाणगंगा नगरपालिकामा कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको नतिजाले शिक्षा क्षेत्रको कमजोर अवस्था उजागर गरेको छ। कुल १९८४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११४३ जना मात्र वर्गीकृत रूपमा उत्तीर्ण भएका छन् भने करिब ८ सयभन्दा बढी विद्यार्थी फेल भएका छन्। फेल भएका सामुदायिक र निजी विद्यालयका ८४१ जना विद्यार्थीले अब ग्रेड वृद्धि परीक्षा दिनुपर्ने छ। नगर शिक्षा शाखाले विद्यालयहरुलाई नतिजा उपलब्ध गराए पनि यद्यपि विद्यालयहरुले भने नतिजा प्रकाशन गरेका छैनन ।

यो तथ्यांकले बाणगंगाको शैक्षिक अवस्था गम्भीर संकटमा रहेको स्पष्ट देखाउँछ। करिब ४२ प्रतिशत विद्यार्थी फेल हुनु सामान्य घटना होइन, बरु शिक्षा व्यवस्थापनको गम्भीर कमजोरीको संकेत हो। नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख रोशन घिमिरेले समेत यति ठूलो संख्यामा विद्यार्थी फेल हुनुमा सबै पक्ष जिम्मेवार रहेको स्वीकार गरेका छन्।

नतिजामा केही सकारात्मक पक्ष पनि देखिएको छ। बाणगंगाका शिक्षा शाखा प्रमुख घिमिरेले दिएको जानकारी अनुसार कक्षा ८ मा बाणगंगाबाट १३ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्। ४ जिपिए ल्याउनेमा होराइजन आवाशीय मा।वि। सिद्धिपुरका ३ जना, ज्ञानपुञ्ज इंगलिस बोर्डिङ्ग स्कुलबाट ३ जना, बालज्योति इंगलिस बोर्डिङ्ग स्कुलबाट २ जना, लिटिल स्टार इंगलिस बोर्डिङ्ग स्कुलबाट २ जना, आवर विज्जडम बोर्डिङ्ग स्कुलबाट १ जना, जनता मा।वि। बाट १ जना र ज्ञानज्योति शिक्षा सदनबाट १ जना विद्यार्थी रहेका छन्। तर सीमित संख्यामा ४ जिपिएको उत्कृष्ट नतिजाले समग्र अवस्था सुधारिएको संकेत गर्दैन।

एक जना विद्यार्थीले बौद्ध शिक्षा विषयका कारण आफू फेल भएको गुनासो गर्दै भविष्यमा उक्त विषय नपढ्ने तर अहिले फेल हुन परेको गुनासो गरे। यसले पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीमा समेत सुधारको आवश्यकता देखाउँछ।

यता अभिभावकहरू पनि आक्रोशित छन्। नाम नबताउने शर्तमा एक अभिभावकले नगर नेतृत्वप्रति नै असन्तुष्टि जनाउँदै शिक्षा क्षेत्रलाई प्राथमिकता नदिइएको आरोप लगाए। उनका अनुसार नगरपालिकाले समयमै विद्यालयहरूको अनुगमन, शिक्षक व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएको भए यस्तो अवस्था आउने थिएन।

ती अभिभावकले जनप्रतिनिधिहरूले शिक्षा सुधारभन्दा पनि व्यक्तिगत स्वार्थमा ध्यान दिएको आरोप लगाउँदै जनप्रतिनिधिकै मिलोमतोमा बाणगंगा खोलामा जेसीभी प्रयोग गरी अवैध रूपमा दोहन भइरहेको गम्भीर आरोप लगाए । उनले भने यस क्रममा कुनै मापदण्डको पालना नगरी खोलाको प्राकृतिक स्वरूप बिगारिँदै गएको र जनप्रतिनिधिहरूको गोजी गरम हुँदासम्म खोलाको दोहन हुने आरोप लगाए। यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा वातावरणमा नकारात्मक असर पार्ने र समाजको समग्र विकासमा बाधा पुग्ने भन्दै उनले नगरलाई शिक्षा तथा सार्वजनिक हितमा ध्यान दिन आग्रह गरे ।

नगर प्रमुख चक्रपाणी अर्यालसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। तर स्थानीय तहमा अर्याल नेतृत्वको दुई तिहाइ बहुमत हुँदाहुँदै पनि शिक्षा क्षेत्रमा सुधार नदेखिनु थप चिन्ताको विषय बनेको छ।

कपिलवस्तु क्षेत्र नं. १ का सांसद मोहनलाल आचार्यले माध्यमिक तहसम्मको जिम्मेवारी स्थानीय तहको रहेको बताउँदै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको औलाए ।

शिक्षासँग सरोकार राख्नेहरूका अनुसार ठूलो संख्यामा विद्यार्थी असफल हुनुको प्रभाव दीर्घकालीन हुन सक्छ। यसले विद्यार्थीहरूमा पढाइप्रति निराशा, दुव्र्यसनतर्फ आकर्षण र भविष्यप्रति अन्योलता बढाउने खतरा देखिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

समग्रमा बाणगंगाको यो नतिजाले नगरपालिकाको शिक्षा व्यवस्थापनमा गम्भीर कमजोरी रहेको प्रष्ट पारेको छ। अब पनि समयमै सुधारका ठोस कदम नचालिए भविष्यमा अझ भयावह अवस्था आउन सक्ने देखिन्छ।

बाणगंगा शिक्षा क्षेत्रस् उब्जिएका प्रश्न

— ८ कक्षाको परीक्षा बाहेक अनुगमन, सुपरीवेक्षण, शिक्षक प्रोत्साहन नगरेको

— ८ कक्षाको परीक्षाको लागि करिब ९ लाख छुट्याएको, नतिजामा उपलब्धि नदेखिएको

— विद्यालयहरुलार्ई ससर्त अनुदान बाहेक अन्य कुनै काम नगरेको

— मेयर कप, उप मेयर कप, राष्ट्रपति कपका नाममा मोटो रकम विनियोजन गर्ने गरेको

— गुणस्तर सुधारका लागि आन्तरिक स्रोतबाट लगानी नगरेको

— विद्यार्थी धेरै भएका विद्यालयमा शिक्षक नभएको

— शिक्षक भएको विद्यालयमा विद्यार्थी संख्या कम रहेको

— अस्तित्वमा रहेका विद्यालयललाई राम्ररी व्यवस्थापन गर्न नसकेको

— शिक्षक तालिमहरु प्रभावकारी नभएको

— नगरपालिकाले निजी विद्यालयहरुलाई प्रोत्साहन नगरेको

प्रतिक्रिया दिनुहोस्