कपिलवस्तु २३ चैत्र ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
महाराजगञ्ज नगरपालिका(भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
चिकित्सकका अनुसार यादवको अवस्था सुधार हुँदै गएको भन्दै उनलाई वार्डमा सारिएको थियो। तर वार्डमै उपचारका क्रममा उनको मृत्यु भएको हो।
गत चैत ७ गते वरगदा गाउँमा हिन्दु(मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले फायरिङ गरेका थिए। फायरिङका क्रममा पेटमा गोली लागेर यादव गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि चितवन लगिएको थियो। डीएसपी सिंहले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले फायरिङ गरेको बताए। उनले यादवलाई कसको गोली लागेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको पनि जानकारी दिए।
