बाणगंगामा फोहोरमैला व्यवस्थापन तत्कालका लागि वडास्तरमै व्यवस्थापन गर्ने सहमति


पालिका पत्र

२४ चैत्र २०८२, मंगलवार ०६:४० मा प्रकाशित

चैत्र २४, बाणगंगा ।

बाणगंगा नगरपालिकाले फोहोरमैला व्यवस्थापनको देखिएको समस्या समाधानका लागि सरोकारवाला निकायसँग व्यापक छलफल गरेको छ। आज नगरपालिकाको सभाहलमा आयोजित विशेष बैठकमा दीर्घकालीन तथा तत्कालीन समाधानका उपायबारे गहन विचार–विमर्श गरिएको हो।
छलफलबाट तत्कालका लागि प्रत्येक वडाले आफ्नै वडाभित्र उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ। दीर्घकालीन समाधानका लागि उपयुक्त स्थान पहिचान गरी व्यवस्थित डम्पिङ साइट निर्माण गर्ने विषयमा पनि सहकार्य गर्ने निष्कर्ष निकालिएको छ।

यसअघि बाणगंगा पुल किनारमा डम्पिङ साइट बनाएर फोहोरमैला व्यवस्थापन गर्दै आएको नगरपालिकाले पछिल्लो समय स्थानीयवासीको विरोधपछि उक्त कार्य प्रभावित बनेको छ। वैकल्पिक व्यवस्थापनका लागि केही सामुदायिक वन क्षेत्रमा प्रयास गरिए पनि स्थानीय बासिन्दा तथा डिभिजन वन कार्यालयको अवरोधका कारण कार्यान्वयनमा समस्या आएको जनाइएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चक्रपाणी अर्यालले फोहोरमैला व्यवस्थापन अहिले नगरपालिकाको प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो।
नगरपालिकाले आगामी दिनमा सबै सरोकारवालासँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि ठोस योजना अघि बढाउने जनाएको छ।
बैठकमा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खानेपानी तथा सरसफाइ समूहका पदाधिकारी, उद्योगी व्यवसायी, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, युवा क्लबका सदस्य तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्