घरमै बसेर पढाइ, ८ सरकारी जागिरमा नाम निकाल्न सफल


पालिका पत्र

२४ चैत्र २०८२, मंगलवार ०६:५७ मा प्रकाशित

चैत्र २४, २०८२ ।

प्युठानको झिमरुक गाउँपालिका–७ तुसाराकी ३० वर्षीया सीता पोख्रेलले लोक सेवा आयोगअन्तर्गत विभिन्न निकायका आठ वटा परीक्षा मात्र नौ महिनाको अवधिमा उत्तीर्ण गर्दै उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।

उहाँले नेपाल आयल निगम (छैटौँ तहं), नेपाल विद्युत् प्राधिकरण (सातौँ तह प्राविधिक), नागरिक उड्डयन प्राधिकरण (पाँचौँ तह प्राविधिक), खाद्य व्यवस्था तथा व्यापार कम्पनी (सातौँ तह), राष्ट्रिय परीक्षा बोर्ड (छैटौँ तह), त्रिवि सेवा आयोग (छैटौँ तह), गुठी संस्थान (छैटौँ तह) तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (छैटौँ तह) का परीक्षा पास गर्नुभएको हो। हाल उहाँ नेपाल विद्युत् प्राधिकरण, रामेछापमा सातौँ तहको प्रशासनिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ।

सीताले कुनै कोचिङ कक्षा नलिई घरमै बसेर प्रविधिको सहायताबाट अध्ययन गर्दै सफलता हासिल गर्नुभएको बताउनुभयो। समय व्यवस्थापन, निरन्तरता र दृढ इच्छाशक्तिका कारण आफू सफल भएको उहाँको भनाइ छ। परिवार, विशेषगरी सानो बच्चासँगै पढाइलाई सन्तुलनमा राख्दै उहाँले अध्ययनलाई निरन्तरता दिनुभएको थियो।

विवाहपछिका थप जिम्मेवारीबीच पनि उहाँले आफ्नो अध्ययन यात्रालाई रोकिन दिनुभएन। २०७४ सालमा दाङको देउखुरीमा विवाह भएपछि परिवार र सन्तानको जिम्मेवारी बढे पनि उहाँले त्यसलाई चुनौतीको रूपमा लिएर अवसरमा रूपान्तरण गर्नुभयो।

उहाँको सफलतामा श्रीमान् माधवमणि पौडेलको विशेष साथ र प्रेरणा रहेको छ। काठमाडौँस्थित कानुन मन्त्रालयमा कार्यरत उहाँले सीतालाई निरन्तर हौसला र सहयोग प्रदान गर्नुभएको थियो।

शैक्षिक यात्रा प्युठानबाट सुरु गरेकी सीताले प्लस टु पाल्पाबाट, स्नातक दाङबाट र स्नातकोत्तर काठमाडौँबाट पूरा गर्नुभएको हो। विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको उहाँले युट्युब र च्याटजिपिटी जस्ता डिजिटल माध्यम प्रयोग गरी स्वअध्ययनमार्फत तयारी गर्नुभएको थियो।

सीताका अनुसार सफलता प्राप्त गर्न ठूलो स्रोत आवश्यक नपर्ने, बरु इच्छाशक्ति, समय व्यवस्थापन र निरन्तर मेहनत नै प्रमुख आधार हुन्। उहाँको यो उपलब्धि अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया दिनुहोस्