कपिलवस्तुमा विपद् व्यवस्थापन, आगलागी नियन्त्रण र मनसुन पूर्व तयारीमा जोड


पालिका पत्र

२४ चैत्र २०८२, मंगलवार १६:१४ मा प्रकाशित

२४ चैत्र , कपिलवस्तु ।

आगामी गर्मी याम र मनसुन सिजनलाई लक्षित गर्दै कपिलवस्तुमा आगलागी तथा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागी नियन्त्रण, वन डढेलो रोकथाम र मनसुन पूर्व तयारीलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको छ ।

बैठकले जिल्लाभर सबै स्थानीय तहलाई आगलागी नियन्त्रणका साधनहरू तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। दमकल सुविधा नभएका स्थानीय तहलाई यथाशीघ्र दमकल वा वैकल्पिक आगो निभाउने उपकरणको व्यवस्था गर्न आग्रह गरिएको छ। साथै, एम्बुलेन्स, दमकल तथा विपद् व्यवस्थापन सामग्रीहरूको आवश्यक मर्मतसम्भार गरी सधैं परिचालनयोग्य अवस्थामा राख्न सम्बन्धित निकायलाई ताकेता गरिएको छ।

बैठकमा कृषकहरूले गहुँ भित्र्याएपछि खेतमा बाँकी ठूटामा आगो लगाउने प्रवृत्तिले आगलागीको जोखिम बढाएको विषयमा विशेष ध्यानाकर्षण गराइएको थियो। यस्तो कार्य रोक्न स्थानीय तहले सक्रिय भूमिका निर्वाह गर्ने र आवश्यक परेमा नजिकको प्रहरी इकाइको सहयोग लिन निर्णय गरिएको छ। साथै, आगलागी नियन्त्रण सम्बन्धी कार्ययोजना २०८२ सबै स्थानीय तहले स्वीकृत गरी तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ।

सुख्खा मौसममा हुने वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन, डिभिजन वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय र सहकार्यलाई अनिवार्य गरिएको छ। डिभिजन वन कार्यालयलाई नियमित प्रतिवेदन पेश गर्ने व्यवस्था समेत गरिएको छ।

विपद् प्रभावितलाई राहत वितरण प्रभावकारी बनाउन नेपाल सरकारले जारी गरेको विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८२ अनुसार एकीकृत प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय भएको छ। आर्थिक रूपमा विपन्न तथा संकटासन्न परिवारलाई छिटो र व्यवस्थित ढंगले राहत र्पुयाउने लक्ष्य बैठकले लिएको छ।

यसैबीच मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिमा प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र गैरसरकारी संस्था महासंघका प्रतिनिधिहरू सदस्य रहन बताएको छ ।

बैठकका अध्यक्ष तथा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् ।

गौतमले भने, “गर्मी याममा आगलागी र मनसुनमा बाढी पहिरोको जोखिम उच्च रहने भएकाले सबै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरू तयारी अवस्थामा रहन आवश्यक छ। पूर्वतयारी, जनचेतना र समन्वय प्रभावकारी भए मानवीय तथा भौतिक क्षति न्यून गर्न सकिने बताउदैे कृषकहरूले खेतमा आगो लगाउने कार्य रोक्न स्थानीय तहलाई सक्रिय हुन आग्रह गर्दै संचार माध्यममार्फत जनचेतना फैलाउन पनि अनुरोध गरेका छन् ।

बैठकमा जिल्ला समन्वय समिति,का प्रमुख विभिन्न नगर तथा गाउँपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालय, रेडक्रस, पत्रकार महासंघ तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्