काठमाडौँ,२४ चैत्र ।
शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग पटक(पटक भर्ना शुल्क नलिन निर्देशन दिएको छ। उसले शैक्षिक सत्र शुरु हुनु अगाडि विद्यार्थी भर्ना नगर्न पनि देशभरका विद्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहलाई यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि भनेको छ। केही विद्यालयले शैक्षिक सत्र शुरु हुनुअगावै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने र स्वीकृत शीर्षकभन्दा बाहिर गएर चर्को शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
‘प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै विद्यार्थीबाट अग्रिम र बढी शुल्क असुलिएको, फरक शीर्षकमा रकम लिइएको र एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिइएको पाइएको छ’, पत्रमा उल्लेख छ।
