महोत्तरीमा मोटरसाइकल दुर्घटना


पालिका पत्र

२४ चैत्र २०८२, मंगलवार १७:३२ मा प्रकाशित

महोत्तरी, २४ चैत्र ।
महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा ज्यान गुमाउने र घाइते हुने विद्यार्थीहरूको परिचय खुलेको छ ।

ज्यान गुमाउनेहरूमा जलेश्वर नगरपालिका–६ का २० वर्षीय शुभाष दास, २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ का २० वर्षीय अभिषेक मण्डल रहेका प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा जलेश्वर–६ कै १९ वर्षीय रोहित दास, १९ वर्षीय अभय कापर र एकडारा–५ बथनाहाका २० वर्षीय अजय कापर रहेका छन् ।

घाइतेहरूको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका–५ मा रहेको बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ती विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फर्किरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्