बाणगंगामा कोरियन सहयोगस् कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना


पालिका पत्र

२५ चैत्र २०८२, बुधबार ०५:२४ मा प्रकाशित

२५ , चैत्र बाणगंगा ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा बाणगंगा नगरपालिकामा तरकारी तथा फलफूल मूल्य शृङ्खला परियोजना सञ्चालन हुने भएको छ । सोही सन्दर्भमा मंगलबार कोइकाको एक टोलीले नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित कर्मचारीहरूसँग प्रारम्भिक छलफल तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा कृषि शाखा प्रमुख लेषबहादुर केसीले उक्त परियोजनाले बाणगंगाका कृषकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै कृषिमार्फत समृद्धि हासिल गर्ने आधार तयार हुने बताउनुभयो ।

प्रोजेक्ट म्यानेजर डा. डोङ्ग ह्वाङ किमले परियोजना अन्तर्गत तरकारी तथा फलफूल खेतीका लागि आवश्यक आर्थिक सहयोगदेखि बजारीकरणसम्मका सम्पूर्ण पक्षमा सहकार्य गरिने जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना सञ्चालनका लागि बाणगंगालाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै परियोजनाका फिल्ड म्यानेजर जोङ्ग ह्योन सिनले परियोजना ६ वर्षसम्म सञ्चालन हुने जानकारी दिँदै पहिलो वर्षमा सम्भावनाको अध्ययन गरी विस्तृत कार्ययोजना तयार गरिने बताउनुभयो । उहाँले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिमा परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अन्य पालिकाभन्दा बढी बजेट विनियोजन गर्दै आएको बताउनुभयो । उहाँले पछिल्ला वर्षहरूमा कृषि उत्पादन व्यवसायिकतर्फ उन्मुख हुँदै गएको र युवाहरूको आकर्षण समेत बढ्दै गएको बताउनुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले कृषकहरूलाई कृषक कार्ड वितरण गरी स्थानीय हाटबजारमा निःशुल्क रूपमा उत्पादन बिक्री गर्ने वातावरण पालिकाले निर्माण गरिएको जानकारी दिनुभयो ।

परियोजनाका संयोजक विष्णु पौडेलले कोइकाको सहयोगमा सञ्चालन हुन लागेको यस परियोजनाले बाणगंगामा कृषि मूल्य शृङ्खलाको विकासमा नयाँ आयाम थप्ने बताउनुभयो ।

उहाँले उत्पादन, संकलन, प्रशोधनदेखि बजारीकरणसम्मको सम्पूर्ण प्रणालीलाई व्यवस्थित गर्दै कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

बाणगंगा नगरपालिकामा करिब ९ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन रहेको छ, जसलाई प्रभावकारी रूपमा उपयोग गर्दै कृषिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित परियोजना अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्