सर्लाही, चैत २६ गते ।
सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ।
राति भएको भारी वर्षापछि बाढी आएर चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवनको तीनघरे र बासाटोलको बिचमा पर्ने चापिनी खोलाको डाइभर्सन बगाउँदा राजमार्ग नै अवरुद्ध बनेको हो । पुरानो पुललाई मर्मत गर्ने र छेउमै अर्को पुल बनाउने काम भइरहेकाले डाइभर्सनबाट सवारी आउजाउ गर्दै आइरहेका थिए ।
डाइभर्सन बगाएसँगै अब पूर्वपश्चिम राजमार्गकै पुरानो पुलको मर्मत कार्य रोकेर सोही पुलबाट यातायात सूचारु गर्न माटो भर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आधा(एक घण्टाभित्र पुरानो पुलबाट एकतर्फी भए पनि गाडी चलाउने गरी माटो भर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
इन्स्पेक्टर अधिकारीका अनुसार बाढीले बगाएको डाइभर्सन निर्माण गर्न भने समय लाग्ने अवस्था छ । सर्लाहीमा अहिले पूर्वपश्चिम राजमार्गको दर्जनौँ स्थानमा डाइभर्सन गाड पास गराइ बक्स कलभर्ट र पुल निर्माण गर्ने काम भइरहेको छ ।
राति २ बजेपछि भएको भारी वर्षाले पानी जम्ने र हिलाम्मे भएकाले अन्य ठाउँको डाइभर्सनबाट पनि कष्टपूर्ण किसिमले सवारी साधन सञ्चालन भइरहेका छन् । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) ले बर्खायामअघि नै पुल र कलभर्टको काम सम्पन्न गरिने जनाएको छ ।
निरन्तर पानी पर्न थालेपछि हाइवेमा डाइभर्सन गरेर गाडी चलाउन सम्भव नहुने भएकाले सडक भन्दा पुल र कलभर्टको काम प्राथमिकताका साथ भइरहेको आयोजनाका सूचना अधिकारी एवम् इन्जिनियर रामटहल यादवले बताउनुभयो ।
