चैत्र २६ ,कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका संगठन विभाग प्रमुख रिखिराम भट्टराई नेतृत्वको एक समूहमाथि स्थानीयले कुटपिट गरेका छन्।
स्रोतका अनुसार कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा भएको घटनामा भट्टराई नेतृत्वको समूहले एक स्थानीय पसलेलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्नुका साथै उनको मोबाइल फुटाइदिएको आरोप छ। त्यसपछि आक्रोशित स्थानीयले समूहलाई घेराबन्दी गर्दै कुटपिट गरेका हुन्।
घटनापछि क्षतिपूर्तिस्वरूप भट्टराई पक्षले पीडितलाई २२ हजार रुपैयाँ उपलब्ध गराएको जनाइएको छ। स्रोतका अनुसार उक्त समूह जर्लैया नाकाबाट ठेकेदार पक्षसँग रकम असुली गरेर जगदिशपुर पुगेको बताइएको छ।
पछिल्लो समय भट्टराईले आफूलाई ‘स्वघोषित अभियन्ता’को रूपमा प्रस्तुत गर्दै विभिन्न पक्षसँग बार्गेनिङ गरी मोटो रकम असुल्दै आएको आरोप समेत स्रोतहरूले दाबी गरेका छन्।
घटना साम्य पार्न करिब २० जनाको प्रहरी टोली घटनास्थल पुगेको स्थानीयले बताएका छन्। तर, प्रहरीको उपस्थितिमै घटनालाई सहमतिमा टुंग्याइएको र यसलाई गुपचुप पार्ने प्रयास भएको भन्दै स्थानीयले रहस्यमय भएको आरोप लगाएका छन्।
प्रहरीको उपस्थितिमा भएको सहमतिपछि भट्टराई नेतृत्वको समूहले गल्ती स्वीकार गर्दै माफी मागेको जनाइएको छ। साथै, घटनालाई बाहिर नल्याउन आग्रह गरिएको समेत स्रोतले उल्लेख गरेका छन्।
यस घटनाले स्थानीय तहमा असुली प्रवृत्ति र प्रहरीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
