चैत्र २७ , भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–९ मा अवस्थित शुद्धोधन माध्यमिक विद्यालयले आफ्नो ५१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले शिक्षक बिदाइ तथा सम्मान कार्यक्रमसँगै शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक गरेको छ ।कार्यक्रमका बीच विद्यालयका पूर्व शिक्षिका रामप्यारी पौडेल, शिक्षक तिलकराम पौडेल, ठाकुरप्रसाद खनाल, पूर्व प्रधानाध्यापक अफाक अहमद खाँ, वाणगंगा नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी तथा पूर्व शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका उपसचिव अर्जुन कुँवरलाई कदरपत्र, दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान तथा बिदाइ गरिएको थियो ।
विद्यालयले सो अवसरमा शैक्षिक सत्र २०८२ को नतिजा सार्वजनिक गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो। साथै, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा खेलाडीहरूलाई मेडल प्रदान गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि एवं वाणगंगा नगर उपप्रमुख रिता कुमारी चौधरीले सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको सहकार्य अपरिहार्य रहेको बताइन्। उनले नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी गर्दै आएको उल्लेख गरेकी थिइन ।
त्यस्तै कार्यक्रममा भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझी, सामुदायिक वनका प्रतिनिधि योगेन्द्र पौडेल, पूर्व प्रधानाध्यापक अफाक अहमद खाँ, पूर्व शिक्षिका रामप्यारी पौडेल, नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी एबम पूर्व शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका उपसचिव अर्जुन कुँवरले विद्यालयको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।
वडा नं. ९ का अध्यक्ष कमल पौडेलले विद्यालयको शैक्षिक उन्नतिका लागि अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याउँदै नयाँ शैक्षिक सत्रमा सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक कौलेश्वर प्रसाद मिश्राले विद्यालयको आर्थिक, भौतिक अवस्था तथा भावी योजनाबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर पौडेलले आगामी शैक्षिक सत्र २०८३ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गरिने , चमेना गृह सञ्चालन गरिने तथा विद्यार्थी सुविधालाई ध्यानमा राख्दै यातायात व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिएका थिए । उनले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
यसैबीच, हालै मात्र २०८२ सालको एसईई परीक्षा दिएका विद्यार्थीहरूले विद्यालयप्रति कृतज्ञता प्रकट गर्दै मायाको चिनो हस्तान्तरण गरेका थिए।
कार्यक्रम शिक्षक मनोजकुमार खत्री र शिक्षिका गीता केसी रायमाझीको सहजीकरणमा सम्पन्न भएको थियो।
