जनउत्थानद्वारा लहरेवाली बिउविजन वितरण


पालिका पत्र

२८ चैत्र २०८२, शनिबार ०९:५६ मा प्रकाशित

चैत्र २८, कपिलवस्तु ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका बनगाई (कपिलवस्तु) र कलोनी (रुपन्देही) शाखाले संस्थाको १६औँ वार्षिकोत्सवको अवसर पारेर लहरेवाली तरकारीका बिउविजन वितरण कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रम अन्तर्गत कपिलवस्तु नगरपालिका–६ तिलौराकोट, बाणगंगा नगरपालिका–५ झण्डा तथा रुपन्देहीको बनकट्टामा गरी कुल ८० जना किसानलाई बिउविजन वितरण गरिएको बनगाई शाखाका सञ्चालन अधिकृत गिरिराज रेश्मी र कलोनी शाखाका सञ्चालन अधिकृत त्रिभुवन पराजुलीले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा स्थानीय किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिउविजन वितरणबाट कृषि उत्पादनमा वृद्धि हुनुका साथै किसानहरूको आत्मनिर्भरता मजबुत हुने विश्वास गरिएको छ।

संस्थाले १६ वर्षको अवधिमा पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म ११ तराई र ८ पहाडी गरी १९ जिल्लामा ३९ शाखा कार्यालयमार्फत करिब ६२ हजार ४०५ समूह सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

यसका साथै सदस्यहरूको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न सीपमूलक तालिम, वित्तीय साक्षरता कार्यक्रम तथा सामाजिक उत्तरदायित्वका गतिविधिहरू पनि सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्