सामाजिक एकता र वातावरण संरक्षण मोर्मी युवा संस्थाको सक्रियता


पालिका पत्र

२९ चैत्र २०८२, आईतवार ११:०४ मा प्रकाशित

२९ चैत्र , कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ अन्तर्गत पर्ने मोर्मी टोलमा “मोर्मी युवा विकास तथा सामाजिक संस्था” ले सुरु गरेको शनिबारे श्रमदान अभियान प्रभावकारी बन्दै गएको छ। चैत्र महिनादेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत टोलका सडक सरसफाइ, नाली सफा गर्ने, फोहोर संकलन तथा व्यवस्थापनका कामहरू तीव्र रूपमा अघि बढाइएको छ।

संस्थाका अध्यक्ष कृष्ण घिमिरेका अनुसार अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। “हामीले सुरु गरेको यो अभियानलाई केवल सरसफाइमा मात्र सीमित नराखी वातावरण संरक्षण र सचेतना अभिवृद्धिसँग पनि जोड्ने योजना बनाएका छौं,” उनले बताए।

अभियानमा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। हरेक शनिबार बिहानैदेखि युवाहरू समूह बनाएर टोलका विभिन्न क्षेत्रमा सरसफाइमा जुट्ने गरेका छन्। उनीहरूले प्लास्टिकजन्य फोहोर छुट्याउने, कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्ने तथा फोहोर व्यवस्थापनको सही तरिका अपनाउने अभ्याससमेत सुरु गरेका छन्।

संस्थाले आगामी दिनमा विद्यालयस्तरमा समेत सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। साथै, घरघरमा पुगेर फोहोर व्यवस्थापनको महत्वबारे जानकारी दिने र सबैलाई सरसफाइमा अभ्यस्त बनाउने लक्ष्य लिइएको छ।

स्थानीय बासिन्दाहरूले यस अभियानले टोलमा सकारात्मक परिवर्तन ल्याउन थालेको बताएका छन्। सरसफाइसँगै सामाजिक एकता, सहकार्य र जिम्मेवारी बोध समेत बढ्दै गएको उनीहरूको भनाइ छ।

टोलमा बढ्दो फोहोर व्यवस्थापन समस्यालाई समाधान गर्न युवाहरूले थालेको यस्तो अभियान अन्य स्थानका लागि पनि उदाहरणीय बन्न सक्ने विश्वास गरिएको छ। हाल यस कार्यको स्थानीयस्तरमा मात्र नभई अन्य वडाहरूमा समेत प्रशंसा हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्