हथौसा लिटिल स्टार स्कुलको २२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण


पालिका पत्र

२९ चैत्र २०८२, आईतवार २१:२४ मा प्रकाशित

२९ चैत्र, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–११, ओदारीस्थित हथौसा लिटिल स्टार ईङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलको २२औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा विभिन्न अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले शिक्षालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र नैतिक मूल्यसहितको शिक्षामा जोड दिन आग्रह गर्नुभयो। साथै, उहाँले विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा एक शैक्षिक सत्रभर विभिन्न खेलकुद, अतिरिक्त क्रियाकलाप तथा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई शैक्षिक तथा विधागत पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका क्रममा विद्यार्थी तथा शिक्षकहरूले प्रस्तुत गरेका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले उपस्थित अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो। विभिन्न नृत्य, गीत तथा नाटकमार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डेले विद्यालयलाई यस स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहने र शैक्षिक सुधारका लागि निरन्तर प्रयास जारी रहने बताउनुभयो।

विद्यालय सञ्चालक समितिका निवर्तमान अध्यक्ष डिल्लीराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व सञ्चालक, पूर्व शेयर सदस्य, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षक मदन मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक राधा पाण्डे र कृष्ण थापाले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्