कपिलवस्तु, २९ चैत्र ।
बाणगंगा नगरपालिका अन्तर्गत गजेहडास्थित बाणगंगा माध्यमिक विद्यालयको वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयकै प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यले शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। उनले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
विद्यालयका पूर्व प्रधानाध्यापक नन्द किशोर शुक्लाले विद्यालयको विगतदेखि वर्तमानसम्मको प्रगतिबारे चर्चा गर्दै सबैको सहकार्यले विद्यालयलाई अझ उत्कृष्ट बनाउन सकिने बताए।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर कुँवरले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न योजनाहरू अघि बढाइएको जानकारी दिँदै अभिभावक र शिक्षकबीचको सहकार्य अपरिहार्य रहेको बताए।

शिक्षक अभिभावक संघका अध्यक्ष रामु सभागे थारुले विद्यार्थीको समग्र विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।
विद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर कुँवरको अध्यक्षता, सहायक प्रधानाध्यापक ज्ञानराज अर्यालको स्वागत मन्तव्य तथा शिक्षक गोविन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो।
