२९ चैत्र, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा–०३, गंगौलिया स्थित लुम्बिनी भिजन कलेज ले पछिल्लो समय उत्कृष्ट शैक्षिक नतिजा दिँदै बुटवलका नाम चलेका क्याम्पसहरूलाई समेत टक्कर दिने अब्बल शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गरिरहेको छ। गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजाको निरन्तर यात्रालाई अघि बढाउँदै कलेजमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का दाजुभाइ–दिदीबहिनीहरूलाई आगामी परीक्षामा सफलताको कामना गर्दै भव्य विदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेका छन्।
बाणगंगा–१, बैरिया स्थित मायादेवी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूको सक्रिय सहभागितामा कक्षा १२ का विद्यार्थीहरूलाई सम्मानसहित भावनात्मक विदाइ प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन समेत कक्षा ११ का विद्यार्थीहरूले नै गरेका थिए, जसले विद्यार्थीहरूबीचको आपसी समन्वय, नेतृत्व क्षमता र आत्मविश्वासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा बाणगंगा नगरपालिकाकी नगर उप–प्रमुख रीता कुमारी चौधरी सहभागी भएकी थिइन्। उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन, निरन्तर मेहनत गर्न र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अगाडि बढ्न प्रेरणा दिँदै शिक्षा, अनुशासन र परिश्रमलाई सफलताको मुख्य आधारका रूपमा लिनुपर्नेमा जोड दिइन्। साथै कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरू तथा कलेज व्यवस्थापन समितिका पदाधिकारीहरूले पनि विद्यार्थीहरूको आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा भावनात्मक विदाइका कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका थिए।
उक्त समारोहमा कलेज सञ्चालक समिति सदस्यहरू, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै आगामी शैक्षिक यात्राका लागि सकारात्मक ऊर्जा प्रदान गरेको बताएका छन्।
पछिल्लो समय निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै बुटवलका क्याम्पसहरूसँग प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको लुम्बिनी भिजन कलेजले यस क्षेत्रमै उत्कृष्ट नतिजा दिने क्याम्पसका रूपमा आफ्नो सशक्त छवि बनाउँदै शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको अभिभावक तथा सरोकारवालाहरूको धारणा रहेको छ।
