सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित


पालिका पत्र

३० चैत्र २०८२, सोमबार २०:०३ मा प्रकाशित

३० चैत्र , बुटवल ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे सडक आयोजना सरकारी निकायहरूबीच समन्वय अभाव र बढ्दो महँगीका कारण प्रभावित बनेको छ। विश्व बैंकको सहयोगमा नेपाल सरकारले एसियन हाइवे मापदण्डअनुसार अघि बढाएको उक्त आयोजना पछिल्लो समय सुस्त गतिमा सञ्चालन भइरहेको छ।

गत वर्ष कार्तिक महिनामा सम्झौता भई SCEGC–ANS JV ले निर्माण कार्य सुरु गरेको थियो। प्रारम्भिक चरणमा उल्लेखनीय प्रगति देखिए पनि हाल निर्माण कार्यमा ढिलाइ भएको देखिएको छ।

निर्माण कम्पनीका प्रतिनिधिहरूका अनुसार सरकारी निकायबीचको समन्वय अभाव र निर्माण सामग्रीको मूल्यवृद्धि प्रमुख समस्या बनेका छन्। आयोजना पक्षका अनुसार नेपाल विद्युत प्राधिकरण ले सार्नुपर्ने विद्युतका पोल समयमै स्थानान्तरण नगर्दा काम प्रभावित भएको हो। पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो छ।

त्यसैगरी, माटो, ढुंगा, गिट्टी जस्ता निर्माण सामग्री संकलनमा पनि विभिन्न अवरोधहरू देखिएका छन्। वन, नदी तथा चुरे क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरूको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र निर्णयमा हुने ढिलाइका कारण निर्माण कार्य थप प्रभावित भएको बताइएको छ।

निर्माण व्यवसायीहरूले सहजीकरणका लागि पटक–पटक आग्रह गरे पनि सरकारी निकायबाट पर्याप्त सहयोग नपाएको बताएका छन्। बढ्दो महँगीका कारण निर्माण लागत बढ्दै गएको र काम सञ्चालन गर्न कठिन भइरहेको उनीहरूको भनाइ छ।

यस आर्थिक वर्षमा करिब १६ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि बिटुमिन अभावका कारण लक्ष्यअनुसार काम अघि बढ्न सकेको छैन।

निर्माण पक्षले आफूहरू काम गर्न तयार रहेको जनाउँदै सरकारले आवश्यक सहजीकरण, प्रभावकारी समन्वय तथा मूल्यवृद्धिको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

यस्तो महत्वपूर्ण राष्ट्रिय आयोजनामा सरकारी समन्वय अभावका कारण ढिलाइ हुनु दुःखद भएको भन्दै सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गरी छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्