३० चैत्र, अर्घाखाँची
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख छविलाल पौडेलको अध्यक्षता, उपप्रमुख गीता भाट र प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो। साथै, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दल तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरको कार्यसम्पादनसहितको प्रगति प्रतिवेदन योजना शाखा प्रमुख नुमलाल खनालले प्रस्तुत गर्नुभएको थियो।
यस अवसरमा नगरप्रमुखसहित सम्बन्धित शाखाका प्रमुखहरूले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा सम्पन्न भएका योजना, बजेट खर्च तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य विकास निर्माणसँग सम्बन्धित विषयमा प्रश्न, सुझाव तथा गुनासा राखेका थिए। सहभागीका जिज्ञासाहरूमा नगरप्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले जवाफ दिएका थिए।
कार्यक्रम शितगंगा नगरपालिकाको आयोजना तथा वर्षा मिडिया प्रा।लि।को समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रममा वर्षा मिडिया प्रा।लि।का तर्फबाट सूर्य भुसाल र नेत्र मरासिनीले पालिकाको वस्तुस्थितिसम्बन्धी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन विक्रम आचार्यले गर्नुभएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहको कामकारबाहीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
