कपिलवस्तु, ३० चैत्र । बाणगंगा नगरपालिका वडा नं. ७, बनगाईस्थित पारिजात ईङ्गलिस बोर्डिङ्ग स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयकै प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कपिल आरोग्य केन्द्र, कपिलधामका चिकित्सक आत्माराम आचार्य रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त खनालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षा मात्र नभई अनुशासन, स्वास्थ्य र नैतिकताको पनि उत्तिकै महत्त्व रहेको बताउनुभयो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने काम गरिरहेकोमा प्रशंसा गर्नुभयो।
विशिष्ट अतिथि वडा अध्यक्ष गिरीले स्थानीय तहबाट शिक्षामा सुधारका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै विद्यालयले हासिल गरेको प्रगति सराहनीय रहेको उल्लेख गर्नुभयो।
विद्यालयका अध्यक्ष बसन्त खनालले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ अघि बढ्ने धारणा राख्नुभयो।
त्यसैगरी विद्यालयका प्रिन्सिपल भोजराज पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक सत्रभरि सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलाप, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले अभिभावक, शिक्षक तथा विद्यार्थीको सहकार्यले विद्यालयलाई सफलताको बाटोमा अघि बढाएको बताउनुभयो।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।
विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।
