खुला सीमाको सुरक्षा सुदृढ गर्न कपिलवस्तुका १० पालिकामा २६६ सीसीटीभी सञ्चालन


पालिका पत्र

11 July, 2026 6:51 am मा प्रकाशित

असार २७, कपिलवस्तु ।

खुला सीमा क्षेत्रको सुरक्षा सुदृढ गर्दै अपराध नियन्त्रणलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कपिलवस्तुका १० वटै स्थानीय तहमा जडान गरिएका २ सय ६६ वटा सीसीटीभी क्यामरा शुक्रबारदेखि सञ्चालनमा आएका छन्।

पालिका तथा विभिन्न सरोकारवाला निकायको सहयोगमा जिल्लाका संवेदनशील चोक तथा स्थानमा जडान गरिएका क्यामराको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित कार्यक्रममा औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले भारतसँग ९३ किलोमिटर खुला सीमा जोडिएको कपिलवस्तु सुरक्षा दृष्टिले संवेदनशील जिल्ला भएकाले सीसीटीभी प्रणालीले आपराधिक गतिविधि नियन्त्रण, अनुसन्धान र अपराधी पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई स्थानीय तह, सरोकारवाला निकाय र आम नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै निरन्तर सहकार्य आवश्यक रहेको बताए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार जडान गरिएका सबै २ सय ६६ वटा सीसीटीभीको केन्द्रीय निगरानी जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रूमबाट २४ सै घण्टा गरिनेछ। यसले कुनै घटना घट्नासाथ प्रहरीलाई तत्काल प्रतिक्रिया जनाउन र अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए।

उद्घाटन कार्यक्रममा कपिलवस्तु, महाराजगञ्ज, कृष्णनगर र शिवराज नगरपालिकाका प्रमुख तथा विजयनगर र शुद्धोधन गाउँपालिकाका अध्यक्षहरूले संयुक्त रूपमा रिमोट थिचेर प्रणाली सञ्चालनमा ल्याएका थिए।

कपिलवस्तु नगरपालिकाका दोहनी, जमुहार, बर्दाहवा, हुलाकी सडकलगायत नौ स्थानमा १४ वटा सीसीटीभी जडान गरिएको छ। तीमध्ये जमुहार पुलनजिकै सवारीसाधनको नम्बर प्लेट स्वतः पहिचान गर्ने अत्याधुनिक अटोमेटिक नम्बर प्लेट रिडर (एएनपीआर) प्रविधियुक्त क्यामरा पनि जडान गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले आवश्यकताअनुसार थप क्यामरा विस्तार गरिने बताए। विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शान्ति–सुरक्षाका लागि स्थानीय तह र प्रहरीबीचको समन्वयलाई अझ प्रभावकारी बनाइने बताए। नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले डिजिटल प्रविधिको प्रयोगले खुला सीमासँग सम्बन्धित आपराधिक गतिविधिको अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्