भागिरथी गौशालामा गौपूजा तथा गोवर्धन पूजा, दर्शनार्थीको उल्लेख्य सहभागिता

कपिलवस्तु । तिहारको तेस्रो दिन अर्थात् गाईपूजा तथा गोवर्धन पूजाको अवसरमा कपिलवस्तुको वाणगंगा नगरपालिका–८ स्थित भागिरथी गौशालामा विशेष पूजाआजा गरिएको छ ।

गौसंरक्षण, धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र गाईको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले गौशालामा गौपूजा तथा गोवर्धन पूजा गरिएको हो । पूजामा वाणगंगा नगरपालिका, सैनामैना लगायतका विभिन्न पालिकाबाट आएका दर्शनार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पूजाका अवसरमा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले गाईलाई हिन्दू धर्म र संस्कृतिमा आस्थाको प्रतीकका रूपमा लिइने उल्लेख गर्दै गौसंरक्षण र धार्मिक परम्पराको निरन्तरतामा सबैले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, नगर प्रवक्ता विष्णु पौडेलले गौसंरक्षण केवल धार्मिक आस्थासँग मात्र नभई सामाजिक तथा सांस्कृतिक पहिचानसँग पनि जोडिएको विषय भएको बताए ।

वाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले भागिरथी गौशालाले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै गौशालाको संरक्षण र विकासमा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको बताए ।

गौशालाका अध्यक्ष चक्रबहादुर भण्डारीले गौशालाको गतिविधि र गौसंरक्षणको महत्त्वबारे चर्चा गर्दै पूजामा सहभागी सबै दर्शनार्थी तथा सहयोगीप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा त्रिलोकमार्ग आमा समूहले देउसी–भैलोसमेत प्रस्तुत गरेको थियो । पूजामा सहभागी दर्शनार्थीहरूले गाईलाई नुन तथा बरान खुवाउँदै पूजा गरेका थिए । धार्मिक आस्था र परम्परासँग जोडिएको कार्यक्रममा विभिन्न स्थानबाट आएका भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्