लुम्बिनी प्रदेशको ३७ अर्ब ३८ करोडको बजेट बहुमतले पारित


पालिका पत्र

9 July, 2026 6:51 am मा प्रकाशित

असार २५, बुटवल ।

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

प्रदेश सभाको बुधबार राति बसेको आठौं अधिवेशनको १८औं बैठकले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ध्वनि मतका आधारमा बहुमतले पारित गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्ताव गरेको विधेयक सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ प्रस्तुत गरेका थिए।

यसअघि बुधबार नै बसेको १७औं बैठकले प्रदेश सरकारको सेवा तथा कार्य सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक पनि बहुमतले पारित गरेको थियो।

आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले असार १ गते आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट सार्वजनिक भएदेखि नै सत्ता पक्षकै केही प्रदेश सभा सदस्यहरूले बजेट मन्त्री तथा निर्वाचन क्षेत्र केन्द्रित रहेको भन्दै आलोचना गर्दै आएका थिए। आलोचनाका बीच प्रदेश सभाले बजेटलाई बहुमतले पारित गरेको हो।

प्रतिक्रिया दिनुहोस्