असार २७,कपिलवस्तु ।
बाणगङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८१.१४ प्रतिशत बजेट कार्यान्वयन गरेको जनाएको छ।
आर्थिक वर्षको समापनका अवसरमा आयोजित जनप्रतिनिधि तथा कर्मचारीबीचको समीक्षा, छलफल एवं अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले एक वर्षको आर्थिक तथा विकास प्रगति सार्वजनिक गर्दै बजेट कार्यान्वयनको विवरण प्रस्तुत गरेको हो।
लेखा प्रमुख केशव गैरेका अनुसार चालु खर्चतर्फ ८६.५५ प्रतिशत र पुँजीगत खर्चतर्फ ७३.२० प्रतिशत बजेट कार्यान्वयन भएको छ।
कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले सीमित स्रोत, समय तथा प्रशासनिक र प्राविधिक चुनौतीका बीच पनि लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न सफल भएको बताए। उनले सेवा प्रवाहमा सुधार, विकास निर्माणको प्रभावकारी व्यवस्थापन तथा ‘ब्रान्ड बाणगङ्गा, बिलिभ बाणगङ्गा’ अभियानलाई अघि बढाउन कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
नगर प्रमुख अर्यालले प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीसहित सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि, टोल विकास संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा नगरवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य र समन्वयबाट नगरको विकासलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरे।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आगामी वर्षमा वित्तीय व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह र दिगो विकासका लागि सकारात्मक आधारका रूपमा लिएको जनाएको छ। साथै आगामी आर्थिक वर्षमा विकास आयोजना समयमै सम्पन्न गर्ने, सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउने तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



