तिलोत्तमामा विद्युतीय ट्राम रेल चलाउने तयारी

विद्युतबाट चल्ने भएकाले बस भन्दा आधा भन्दा बढी सस्तो भाडा दर हुने भएकाले रेल परियोजना सफल हुने सञ्चालकको विश्वास छ ।


appharu

१३ पुष २०७९, बुधबार १२:१० मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । समुदायको लगानीमा तिलोत्तमा नगरपालिकाको चक्रपथमा विद्युतबाट चल्ने ट्राम रेल सञ्चालन हुने भएको छ । रेल चलाउन रेल मार्ग (रेल्वे) को शिलान्यास पनि गरिएको छ ।

२०७६ सालमा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा कुल ८ अर्ब लागतमा प्रस्ताव भएको परियोजना तीन वर्ष पछि कार्यान्यनमा आएको हो । तिलोत्तमा नगरपालिकाले गौरवको आयोजनाका रुपमा अगाडि सारेको रेल सञ्चालन परियोजनाको सिभिल कार्यको गत शुक्रबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।

तत्कालीन मेयर बासुदेव घिमिरेले रेल्वे परियोजनाको डीपीआरको उद्घाटन गरेका थिए ।

५ सय ५० जना संस्थापक सदस्य रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडको अगुवाईमा तिलोत्तमा नगरपालिका र एशियाली विकास बैंक लगायत दातृ निकायहरुको सहयोगमा परियोजनाले पूर्णता पाउने अध्यक्ष हरि तिवारीले बताए ।

पहिलो चरणमा योगीकुटीबाट शंकरनगर वनबाटिका, चपरहट्टी ज्योतिनगर, दीपनगर जनभावना स्कुल–गाईघाट हुंदै रोहिणी पुलसम्म रेल मार्ग निर्माण गरी ट्राम रेल संचालन हुने उनले बताए ।
५० किलोमिटरको चक्रपथमा रेल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको रेल्वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले बताए । रेल सञ्चालनका लागि प्रदेश सरकार र नगरपालिकाबाट ५१ प्रतिशत तथा सर्वसाधारणबाट ४९ प्रतिशत लगानी साझेदारी गर्ने तयारी रहेको शर्माले बताए ।

तिलोत्तमा चक्रपथको ४३ फिट भित्री सडकको बायां १४ फिट भागमा रेल संचालन हुने उनले बताए । विद्युतबाट चल्ने ट्राम रेल यात्रु, आन्तरिक पर्यटक र कृषिजन्य उत्पादन ओसार पसार गर्न प्रयोग हुने सञ्चालक खिमलाल पाण्डेले बताए ।

विद्युतबाट चल्ने भएकाले इन्धनबाट चल्ने बस भन्दा भाडा दर आधा भन्दा बढी सस्तो हुने भएकाले रेल परियोजना सफल हुने सञ्चालकहरुको विश्वास छ ।

दैनिक ३० हजार यात्रु चढ्न सक्ने गरी सञ्चालनको तयारी भएको उनले बताए । रेल पुर्ण क्षमतामा सञ्चालनमा आउंदा एक सय जनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीको दावी छ । पहिलो चरणमा चक्रपथमा र पछि सिद्धार्थ राजमार्गमा जोडेर बाउन्नकोटीस्थित पांच तारे होटेल टाइगर प्यालेस हुंदै गौतमबुद्ध विमानस्थलसम्म जोड्ने लक्ष्य रहेको छ ।
एउटा डिब्बामा ७० जना अटाउने रेलमा ३ वटा डिब्बाको एउटा ट्राम हुने र ३ वटा रुटमा छुट्ने र फर्कने गरी कुल १२ वटा ट्राम सञ्चालन गर्ने लक्ष्य छ ।
रेल पुर्ण क्षमतामा सञ्चालनमा आउंदा वार्षिक टिकट विक्रिबाट एक अर्ब १० करोड आम्दानी गरी ८ करोड खर्च कटाएर वर्षमा एक अर्ब २ करोड नाफा हुने प्रबन्ध सञ्चालक भोला शर्माले बताए । रेल्वे कम्पनीमा तिलोत्तमा नगरपालिकाका मेयर लगायतले शेयर लगानी गरेका छन् । एक शेयरको न्युनतम एक लाख कायम गरिएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्