कोरोना संक्रमित विरामी तथा डाक्टर–नर्सलाई जनमुक्ति पार्टीको निःशुल्क खाना


appharu

१४ जेष्ठ २०७८, शुक्रबार १६:५३ मा प्रकाशित

बुटवल ।
रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका विरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ ।

पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान आउंदो एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए ।

निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुंदा अस्पताल भर्ना भएका विरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको हो कार्यक्रमका मुख्य सहयोगी एवं जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले बताए ।

पार्टी नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयां संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको मंगलापुरस्थित पार्टी कार्यालयमा तयार गरी प्याकेटमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अस्पतालमा वितरण गरिने उनले बताए । पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाले सरकारी निकाय गैर जिम्मेवार बनेको अवस्थामा उपचारमा रहेका संक्रमित र स्वास्थ्यकर्मीलाई सहज र प्रोत्साहन होस् भनेर सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।

उनले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा रहेर गर्ने डाक्टर तथा नर्सहरुलाई पार्टीले सम्मान गर्ने बताए । बुटवल कोभिड अस्पतालमा खाना खुवाउने कामका लागि जनमुक्ति युवा महासंघका तिलोत्तमा अध्यक्ष बुद्धि थापा र भीम अस्पतालमा खाजा खुवाउने कामका लागि जनमुक्ति युवा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डीबी थापालाई संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्