प्रथम ब्राइट डान्स आइडल–२०८३ मा विजय घर्ती विजेता


पालिका पत्र

27 June, 2026 7:34 am मा प्रकाशित

जितपुर । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.ले आफ्नो १३औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा विद्यार्थी सम्मान, प्रथम ब्राइट डान्स आइडल–२०८३ तथा खुला नृत्य प्रतियोगिता शुक्रबार बाणगंगास्थित पिस हिमालयन रिसोर्ट, ठाकुरापुरमा आयोजना गरिएको हो ।

कार्यक्रममा जापान तथा कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका ७० जना विद्यार्थीलाई सम्मान गरिएको संस्थाका प्रबन्ध निर्देशक अशिम क्षेत्रीले जानकारी दिए । विदेश अध्ययन तथा रोजगारीका लागि भाषा परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीको हौसला बढाउने उद्देश्यले सम्मान गरिएको उनले बताए ।

स्थापना दिवसको मुख्य आकर्षणका रूपमा आयोजित प्रथम ब्राइट डान्स आइडल–२०८३ मा १३ जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजय घर्ती प्रथम, विकास परियार द्वितीय तथा सन्ध्या रणपाल तृतीय हुन सफल भए। त्यसैगरी ममता परियार र बिबुशी घिमिरेले सान्त्वना स्थान हासिल गरे ।

कार्यक्रममा चर्चित कलाकार उज्ज्वल गिरि, गायिका आश्मा बन्जाडे, विनोद रञ्जनसहित स्थानीय कलाकारहरूले आकर्षक सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

प्रबन्ध निर्देशक अशिम क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका–४ का वडाध्यक्ष छबिलाल रेश्मी मगर विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा कल्पना केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कपिलवस्तुका संस्थापक अध्यक्ष पूर्णचन्द्र परियारले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कपिलवस्तुका पूर्व अध्यक्ष थानेश्वर अधिकारी, निवर्तमान अध्यक्ष शारदा खनाल, प्रतिष्ठानका सल्लाहकार तथा कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज भुसाल, पत्रकार मोहन बेल्बासे, पशुपति गिरि, विष्णु खरेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नृत्य प्रतियोगिताको निर्णायक संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कपिलवस्तुका उपाध्यक्ष सुमन पौडेल रहेका थिए भने सदस्यमा विजय शारु र बबिता धिताल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्